×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

हमासद्वारा बन्धक बनाइएका विपिन जोशी सहित २२ जना जीवितै रहेको इजरायलको विश्वास

हमासद्वारा बन्धक बनाइएका विपिन जोशी सहित २२ जना जीवितै रहेको इजरायलको विश्वास

काठमाडौँ । हमासद्वारा बन्धक बनाइएका बन्दीहरूमध्ये नेपालका विपिन जोशीसहित २२ जना बन्धकहरू जीवितै रहेको इजरायलले विश्वास गरेको छ । वासिंगटन पोस्टले समाचार संस्था एपीको सहयोगमा प्रकाशित गरेको एक समाचारमा विपिनसहित २२ बन्दीहरू जीवितै रहेको इजरायलको विश्वास उल्लेख गरिएको छ । समाचारमा ती २२ जना बन्दीहरूको संक्षिप्त परिचय पनि समावेश छ ।

इजरायलको तेल अभिभबाट एपीका रिपोर्टर मेलानी लिडम्यानले अर्का पत्रकार स्याम मेट्जको सहयोगमा तयार पारेको समाचारमा २४ वर्षीय नेपाली विपिन पनि जीवितै रहेको इजरायली विश्वासका केही आधारहरूलाई प्रस्तुत गरिएको छ । यसअघि हमासले सार्वजनिक गरेको बन्दीहरूको 'बिदाइ सूचि' मा पनि विपिनको तस्वीर समावेश गरिएको थियो ।

गाजामा पछिल्लो युद्धविराम शुक्रबारदेखि सुरु भएको छ । यो युद्धविरामले करिब दुई वर्ष लामो विनाशकारी युद्धको अन्त्यतर्फ महत्त्वपूर्ण कदम चाल्यो । यो युद्ध हमासले ७ अक्टोबर २०२३ मा इजरायलमाथि गरेको आक्रमणपछि सुरु भएको थियो, जसमा करिब १,२०० जना मारिएका थिए भने २५१ जनाको अपहरण भएको थियो ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार, इजरायलले गरेको आक्रमणमा परी ६७ हजारभन्दा बढी प्यालेस्टिनी मारिएका छन् । मन्त्रालयले मारिनेमध्ये आधा महिला र बालबालिका रहेको उल्लेख गरेको छ । करिब २० लाख जनसंख्या भएको गाजामा ९० प्रतिशतभन्दा बढी मानिस विस्थापित भएका छन् । संयुक्त राष्ट्रसंघ र स्वतन्त्र विशेषज्ञहरूले पनि यस मन्त्रालयका तथ्याङ्कलाई गाजामा युद्धका वास्तविक क्षतिको सबैभन्दा भरपर्दो अनुमान मान्छन् ।

हाल गाजामा ४८ जना बन्धकहरू छन्, जसमा अघिल्लो युद्धमा मारिएका एक सैनिकको शव पनि समावेश छ । इजरायलले कम्तीमा २५ जना बन्धकहरू ७ अक्टोबर २०२३ मा मारिएको वा बन्दी अवस्थामा मृत्यु भएको पत्ता लगाएको छ । बाँकी करिब २० जनामध्ये कति जीवित छन् र फर्कनेछन् भन्ने स्पष्ट छैन । इजरायलले प्राप्त गरेको सूचना अनुसार, बाँकीमध्ये एक महिला बन्धक बन्दी अवस्थामा मारिएकी छन् ।

शुक्रबार युद्धविराम सुरु भएपछि बाँकी बन्धकहरूलाई ७२ घण्टाभित्र फिर्ता गरिने अपेक्षा गरिएको छ । यसको बदलामा इजरायलले करिब २,००० जना प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्नेछ । युद्धविराम सहमति अनुसार सोमबार स्थानीय समयअनुसार दिउँसो १२ बजेभित्र (नेपाली समय अपराह्न २:४५ सम्म) विपिन लगायत ४८ जनालाई रिहा गरिसक्नुपर्ने उल्लेख छ । यद्यपि हमासले भने उक्त अवधिमा सबै बन्धकहरूलाई हस्तान्तरण गर्न नसकिने भन्दै थप समय मागेको छ ।

हमासले अहिलेसम्म जीवित बन्दीहरूको नामावली दिइसकेको छैन । केही दिन अघि विपिन अपहरणमा परेपछि हमासको कब्जामा रहेको अवस्थाको उनको पुरानो भिडियो सार्वजनिक भएको थियो । आज विपिन अपहरण परेको ३३७ दिन पुगिसकेको छ ।

रिपोर्टमा विपिनबारे:
विपिन जोशी आक्रमण हुनु एक महिना अघिमात्र आफ्नो जन्मभूमि नेपालबाट इजरायल आएका थिए । उनी गाजामा अझै जीवित रहेको विश्वास गरिएका एकमात्र गैर–इजरायली बन्धक हुन् । उनी विद्यार्थी आदान–प्रदान कार्यक्रमअन्तर्गत गाजाको सीमा नजिक रहेको किब्बुट्ज अलुमिममा कृषि अध्ययन र काम गर्न इजरायल आएका थिए ।

आक्रमणका क्रममा उक्त कार्यक्रममा सहभागी १७ जना नेपाली विद्यार्थीमध्ये १० जनाको मृत्यु भएको थियो । जोशीले लुकेर बसेको सुरुङबाट केही नपड्किएको ग्रिनेड बाहिर फ्याँक्न सफल भए पनि घाइते हुँदै अपहरणमा परेका थिए ।

जोशीकी १७ वर्षीया बहिनी पुष्पा जोशी आफ्ना दाजुलाई मुक्ति दिलाउन सरकारी अधिकारीहरूसँग भेट गर्न पश्चिम नेपालस्थित आफ्नै घरबाट हप्तामा नियमित रूपमा बस चढी आठ–आठ घण्टा यात्रा गरी काठमाडौं पुग्छिन् । गत अगस्टमा उनका परिवारले इजरायलको राष्ट्रपतिसँग भेट गर्न र तेल अवीवस्थित “होस्टेज स्क्वायर” मा अन्य परिवारसँगै प्रदर्शनमा सहभागी हुन इजरायल यात्रा गरेका थिए ।

प्रतिकृया दिनुहोस्