काठमाडौं । गायिका समीक्षा अधिकारीले हजारौै वर्षदेखिको सामाजिक कमजोरीहरु नदेख्ने मानिसले एउटी नारीको चरित्रमा प्रश्न गर्ने गुनासो गरेकी छिन् ।
उनले आइतवार सामाजिक सञ्जालमा स्टाटस् लेख्दै भनेकी छिन् ‘मान्छेहरु हजारौँ वर्षदेखिको सामाजिक कमजोरीहरु देख्दैनन् । महिलामाथिको अन्याय र विभेद जान्दैनन् । एउटी नारीको चरित्रमा प्रश्न गर्छन् ।’
गायिका अधिकारीले केही समययता सामाजिक सञ्जालमा नकारात्मक कमेन्टहरुको सामना गर्दै आएकी छिन् । नकारात्मक कमेन्ट धेरै आउँदा उनले केही समय सामाजिक सञ्जालमा ‘कमेन्ट अफ’ समेत गरेकी थिइन् । उनलाई नकारात्मक कमेन्टहरु आउने क्रम अझै पनि सेलाएको छैन् ।
यद्यपि, अबभने उनले आफूलाई नकारात्मक कमेन्ट गर्नेबिरुद्ध साइबर ब्यूरोमा उजुरी दिने संकेत गरेकी छिन् । उनले आकाशमा उड्ने पन्छीलाई केहीबेरको हुस्सु र तुवाँलोले ठूलो फरक नपार्ने भन्दै अगाडि लेखेकी छिन्, ‘नकारात्मक कमेन्ट जति गर्छौ गर । देशमा साइबर अपराधको कानून पनि छ ।’
गायिका अधिकारीले पछिल्लो समय सामाजिक सञ्जालमा मात्र होइन्, सांगीतिक क्षेत्रमा समेत सक्रियता बढाएकी छिन् । उनले स्वर दिएका एकपछि अर्को गीतहरु युट्युबमा सार्वजनिक भइरहेका छन् ।