काठमाडौं- नेपाली चलचित्र ‘कबड्डी ४’ ले ४ दिनमा १० करोड रुपैयाँ आम्दानी गरेको छ।निर्माण टिमका अनुसार गत शुक्रबारदेखि प्रदर्शनमा आएको ‘कबड्डी ४’ ले सोमबारसम्म १० करोड रुपैयाँ आम्दानी गरेको छ। मंगलबार कति कमाइ गर्यो भन्ने तथ्याङ्क भने आइसकेको छैन।
देशको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्स एक्लैले प्रदर्शनको पहिलो दिन चलचित्रलाई १ सय बढी शो उपलब्ध गराएको थियो। अझै पनि चलचित्रले राम्रो कमाइ गरिरहेको छ।
रामबाबु गुरुङ निर्देशित चलचित्रमा दयाहाङ राई, सौगात मल्ल र मिरुना मगरका साथै अलावा गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, पुष्कर गुरुङ, कमलमणि नेपाल, कविता आले, स्वर्गीय जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, उपेन्द्र सुब्बालगायतको अभिनय छ।
चलचित्रको कथा निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले मिलेर लेखेका हुन्। मणिराम पोखरेल, विशाल गुरुङ, सुष्मा गुरुङ, मधु मिजार, ओम चन्द रौनियार निर्माताका रुपमा छन्।
शैलेन्द्र डी. कार्कीको छायांकन रहेको चलचित्रलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन्।