टोकियो । दर्शन समाज जापानको शनिबार टोकियोमा सम्पन्न चौथो अधिवेशनबाट प्रदिप सेन ठकुरीको अध्यक्षतामा सर्बसम्मत नयाँ कार्यसमित गठन भएको छ । जापानमा रहेका ठकुरी समुदायको संस्था दर्शन समाज जापानको चौथो अधिवेशन विविध कारणवश निकै ढिलो गरी अर्थात ५ वर्षपछि सम्पन्न भएको हो ।
सो अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा भुवन सिंह ठकुरी, उपाध्यक्षद्वयमा गिरीराज शाह र निरञ्जन हमाल, महिला उपाध्यक्षमा बिमला हमाल ठकुरी, महासचिवमा आशिष मल्ल, सचिवमा अर्जुन शाह र सहसचिवमा प्रकाश हमाल ठकुरी चयन हुनुभएको छ भने कोषाध्यक्षमा राजेन्द्रबहादुर बम र सहकोषाध्यक्षमा किशोर शाही चयन हुनुभएको छ ।
यसैगरी सदस्यहरुमा भीम शाही, अर्जुन शाही ठकुरी, उज्वल सिंह ठकुरी, सुजाता मल्ल ठकुरी, राज चन्द ठकुरी, छत्र शाही, दामन शाही, बिशालबिक्रम शाही, कौशिका शाह, जीवन मल्ल, मनिषा मल्ल, नारायण मल्ल र खगेन्द्र शाही चयन हुनुभएको छ । अधिवेशन समारोहमा निर्वाचन समितिका संयोजक तिलक मल्लले नवगठित कार्यसमितिको घोषणा गर्नुका साथै पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएका थियो । यस अघि निर्वाचन समितिका संयोजक मल्लको अध्यक्षतामा सल्लाहकारहरु सुरज मल्ल, पदम मल्ल, नविन चन्द र कर्णाली प्रदेश समाजका अध्यक्ष बीरेन्द्र शाही रहेको ५ सदस्यीय अध्यक्ष मण्डलले सर्बसम्मत नयाँ कार्यसमिति निर्माण गरेको थियो ।
अध्यक्ष राहुल शाहीको अध्यक्षतामा भएको अधिवेशनको बन्दसत्रमा कोषाध्यक्ष अनिल सिंह ठकुरीद्वारा पेश गरिएको आर्थिक प्रतिवेदन र महासचिव प्रदिप सेन ठकुरीद्वारा पेश गरिएको कार्यप्रगति प्रतिवेदन पारित गरिएको थियो भने विधान संशोधन समितिका संयोजक सुरज मल्लद्वारा विधानमा संशोधन गर्न आवश्यक प्रस्तावित बुँदाहरुमा छलफल गरी पारित गरिएको थियो । आशिष मल्लको सञ्चालन रहेको अधिवेशनको बन्दसत्रमा वरिष्ठ उपाध्यक्ष भुवन सिंह ठकुरीको स्वागत मन्तब्य रहेको थियो भने प्रदिप सेन ठकुरीको सञ्चालन रहेको खुल्ला सत्रमा कार्यसमिति सदस्य बिमला हमाल ठकुरीको स्वागत मन्तब्य रहेको थियो ।
राष्ट्रिय गानका साथै सामुहिक ठकुरी गीत गाएर अधिवेशनको प्रारम्भ गरिएको थियो भने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको तस्वीरमा माल्यार्पण गरेर अधिवेशन समारोहको उदघाटन गरिएको थियो । त्यस लगत्तै हालै रसुवाको भोटेकोशी र त्रिशुलीका आएको बाढीमा परी ज्यान गुमाउने ज्ञात-अज्ञात मृतात्माहरुको चिरशान्तिको कामना गर्दै १ मिनेट मौन धारण गरिएको थियो भने शोकाकुल परिवारजनप्रति समवेदना र घाइते, अपाङ्ग र अशक्तहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको थियो ।
अधिवेशनको औपचारिक समारोहपश्चात तीज विशेष च्यारिटी कार्यक्रम अन्तर्गत गायिका ज्ञानसरा जुग्जाली छन्त्यालले तीज विशेष साँगीतिक प्रस्तुतीहरु राख्नुभएको थियो । सो अवसरमा बाढी पीडितहरुका लागि राहत सहयोग संकलन गरिएको थियो । यसअघिबाटै संस्थाले बाढी पीडितहरुका लागि प्रधानमन्त्री राहत कोषमा स्वेच्छाले राहत सहयोग पठाउन संबद्ध सबैमा अपिल पनि गर्दै आईरहेको छ ।