×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

अर्थ समाचार

सरकारले इन्धन खरिदको लागि आयल निगमलाई ४ अर्ब २५ करोड दिने

सरकारले इन्धन खरिदको लागि  आयल निगमलाई ४ अर्ब २५ करोड दिने

काठमाडौं - सरकारले सञ्चित बचत शून्यमा झरेपछि अप्ठ्यारोमा पुगेको नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको खरिदका लागि थप रकम उपलब्ध गराउने भएको छ । मूल्य स्थिरीकरण कोषको बैठकले निगमले इन्डियन आयल कर्पोरेशन (आईओसी) लाई भुक्तानी गर्नुपर्ने पहिलो किस्ता बापतका नपुग ४ अर्ब २५ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो । गत बिहीबार पेट्रोलियम पदार्थको मूल्य समायोजनपश्चात पनि १५ दिनमा करिब २ अर्ब ५० करोड घाटा रहेको निगमले जनाएको छ । 
 
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आकाशिएपछि निगमको खरिद मूल्य बढेर घाटा बढ्दै गएको छ । निगमले आइओसीलाई मार्च महिनामा बुझाउनुपर्ने पहिलो किस्ता बापतको रकम अपुग भएपछि मूल्य स्थिरीकरण कोषबाट नपुग रकम उपलब्ध गराउन माग गरेको थियो । निगमले प्रत्येक महिनाको ८ र २३ तारिखका दिन आइओसीलाई किस्ता बुझाउँदै आएको छ । यसअघि स्थिरीकरण कोषबाट गत जनवरी महिनामा निगमलाई १  अर्ब ८० करोड रुपैयाँ उपलब्ध गराइएको थियो ।
 
निगमलाई रकम उपलब्ध गराउने सरकारको निर्णयबाट पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाइराख्न मद्दत पुग्ने प्रवक्ता विनितमणि उपाध्यायले बताए । पछिल्ला दिनमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढिरहेकाले आइओसीलाई भुक्तानी गर्नुपर्ने रकम अझ धेरै नै नपुग हुने स्थिति देखिएको निगमले जनाएको छ । विश्व बजारमा अहिले कच्चा तेलको मूल्य प्रतिव्यारेल १३० डलर नाघेको छ । 
 
रासस

प्रतिकृया दिनुहोस्