काठमाडौं-राष्ट्रिय किताबखानाले नेपाल सरकारका सचिव र सहसचिवलाई आगामी ७ दिनभित्र आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्न भनेको छ।
निजामती सेवा नियमावली, २०५० को नियम १० तथा नियम १० क. ले सबै सेवा, समूह, श्रेणीका कर्मचारीको अभिलेख राख्ने एवं अद्यावधिक गर्नुपर्ने कानूनी व्यवस्था गरेको किताबखानाले स्पष्ट पारेको छ।
उक्त कानूनी प्रावधान बमोजिम राष्ट्रिय किताबखाना (निजामती) ले कर्मचारीको वैयक्तिक विवरण अद्यावधिक गर्दै आइरहेको जनाएको छ।
‘यस विभागमा कर्मचारीको उक्त विवरणहरु प्राप्त नभएको कारणले कर्मचारीहरुको वैयक्तिक विवरण पूर्ण रुपमा अद्यावधिक गर्न कठिनाई भएको हुँदा राजपत्राङ्कित प्रथम श्रेणी वा सो सरह तथा सो भन्दा माथिल्लो श्रेणी (संघीय सेवा, प्रदेश सेवा ) मा कार्यरत सबै सेवा, समूह, श्रेणीका कर्मचारीहरुको हालको पदमा भएको नियुक्ति सरुवा, बढुवा, हालको कार्यालय, शैक्षिक योग्यता र तालिम जस्ता विवरणहरु ७ दिन भित्र अद्यावधिक गर्नु गराउनुहुन सम्बन्धित सबै जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, सूचनामा भनिएको छ।
सरकारले विज्ञताका आधारमा कर्मचारी खटाउने तयारी गरिरहेकाे छ।
सचिव र सहसचिव पदमा पुगेका कर्मचारी पनि शुरूमा खरिदार वा नासुसरहको पदबाट सेवा प्रवेश गरेको भए उनीहरूको व्यक्तिगत विवरणमा एसएलसी वा प्रवीणता प्रमाणपत्र तहको मात्र शैक्षिक योग्यता रहेको तर त्यसपछि अधावधिक भए नभएकाे बुझन बिवरणवारे जानकारी लिन खाेजिएकाे हो।
विवरण अद्यावधिक गर्न किताबखानाको वेबसाइटमा रहेको इमेलमार्फत वा स्वयं कागजात लिई कार्यालयमा गई विवरण अद्यावधिक गर्न सकिने छ।