काठमाडौँ - मन्त्रिपरिषद्को साउन २६ गते बसेको बैठकले विभिन्न स्थानमा कार्यरत ७२ सहसचिवको सरुवा गरेको छ । एउटा निकायबाट अर्को निकायमा सरुवा गर्दा मन्त्रिपरिषद्ले गर्ने व्यवस्था अनुरूप त्यो बैठकको निर्णय साउन २८ गते सार्वजनिक भएको हो ।
तर ठुलो सङ्ख्यामा सहसचिव सरुवा हुँदा पनि लामो समय विवाद रहेको काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहसचिव सरोज गुरागाईँ सरुवा भएनन्
नगरप्रमुख बालेन्द्र साहसँग गुरागाईँको गत पुसदेखि विवाद थियो , विवादका कारण नगरपालिकाको नीति तथा कार्यक्रम र आर्थिक वर्षको बजेट ल्याउन पनि ढिलाइ भएको थियो । यतिसम्म की नगरप्रमुख साहको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईँलाई आफ्नो कार्यकक्षमा छिर्न नदिएका नगर प्रमुख राजुनाथ पाण्डेलाई बलजफ्ती कार्यकक्षमा छिरेका गुरागाईँले निलम्बन गरे । उनको निलम्बनलाई चुनौती दिँदै पाण्डे अदालत गएपछि अदालतले निलम्बन फुकुवा गरिदिएपछि काममा फर्किएका छन् ।
विवादका बिच अहिले भने नगरप्रमुख साहले गुरागाईँलाई त्यहाँ राख्न चाहेका छैनन् भने गुरागाईँ आफै पनि विवाद गरेर बस्न चाहिरेका छैनन् ।
साह र गुरागाईँ दुवैले सरुवाका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आग्रह गरेका थिए । नगर प्रमुख साहको सचिवालयले साह र स्वयं गुरागाईँले सरुवाका लागि आग्रह गरेको तर सरुवा भएको नभएको जानकारी दियो । ‘नगर प्रमुखज्यूले र प्रमुख कार्यकारी अधिकृतज्यू स्वयंले सरुवाका लागि आग्रह गर्नुभएको हो । किन र कसरी सरुवा भएन । जानकारी पाइएन,’ साहको सचिवालयका एक सदस्यले भने ।
प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले सरकारले सहसचिवहरूको सरुवा गरिसकेकाले यस विषयमा आफू नबोल्ने बताए । ‘सरकारले सहसचिवहरूको सरुवा गरिसक्यो । अब यस विषयमा के बोल्नु, म बोल्दिन,
तर, मन्त्रालयले सरुवाका लागि पठाएको सूचीमा नाम नपठाएर हो या प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले टिप्पणी नउठाएर हो गुरागाईँको सरुवा भएन ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव पीताम्बर घिमिरेले काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र साह र प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईँले सरुवाका लागि आग्रह गरेको आफूलाई जानकारी नभएको बताए ।
‘सरुवा हुने सहसचिवहरू सरुवा भइहाल्नुभयो । अरूले मागेको मलाई जानकारी भएन,’ प्रशासन महाशाखा प्रमुख घिमिरेले भने, ‘काठमाडौँका प्रमुख प्रशासकीय अधिकृतको सरुवाका लागि आग्रह आएको थाहा नभएको बताए ।