काठमाडौं- इंग्ल्याण्डविरुद्धको एकदिवसीय सिरिज भारतीय महिला क्रिकेट टोलीले एक खेल अगावै जितेको छ । गएराति सम्पन्न खेलमा इंग्ल्याण्डलाई ८८ रनले हराउँदै भारतले एक खेल अगावै सिरिज जितेको हो ।
दोस्रो खेलमा भारतले दिएको ३ सय ३४ रनको लक्ष्य पछ्याएको घरेलु टोली इंग्ल्याण्डले ४४.२ ओभरमा सबै विकेट गुमाएर २ सय ४५ रन मात्र बनाउन सक्यो । उसका लागि ड्यानी व्याटले सर्वाधिक ६६, एलिस क्याप्सी, कप्तान एमी जोन्सले ३९/३९, चार्ली डीनले ३७ रन बनाइन् । बाँकी ब्याटरले भने सन्तोषजनक प्रदर्शन गर्न सकिनन् । भारतका लागि रेणुका सिंहले चार, दयालन हेम्लताले दुई, शेफाली बर्मा र दिप्ती शर्माले एक/एक विकेट लिए ।
त्यसअघि क्यान्टरबरीस्थित सेन्ट लरेन्स ग्राउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको पाहुना टोली भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ३३ रन बनायो । उसका लागि कप्तान हरमनप्रीत कौरले शतकीय पारी खेलिन् । १११ बलको सामना गरेका उनले चार छक्का र १८ चौकाको मद्दतमा अविजित १४३ रन बनाइन् ।
एकदिवसीय अन्तर्राष्ट्रियमा कौरको यो पाँचौं शतकीय पारी हो । हरलिन देवलले ५८, स्मृति मान्धनाले ४०, यास्तिका भाटियाले २६, पूजा वस्त्रकारले १८ र दिप्ती शर्माले अविजित १५ रन बनाइन् । इंग्ल्याण्डका लागि केट क्रससहित पाँच बलरले एक/एक विकेट लिए । सिरिजको पहिलो खेलमा भारत ७ विकेटले विजयी भएको थियो । भारत–इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम एकदिवसीय शनिबार हुनेछ ।