काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्दै मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने समुदायको वैकल्पिक जीविकोपार्जनका उपायको उचित व्यवस्थापन गर्न ध्यान पुर्याउनुपर्ने बताएकी छिन्।
उनले वन्यजन्तु संरक्षणका क्षेत्रमा विद्यमान नीति र कानुनी व्यवस्थालाई प्रकृति संरक्षणको अभिन्न अंगका रूपमा कार्यान्वयन गर्न सबैको दिगो सक्रियता आवश्यक पर्नेमा जोड दिएकी छिन्।
विश्व बाघ दिवसको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले बाघ विचरण गर्ने वन क्षेत्रको विस्तार, आवश्यक आहारा हुने वन्यजन्तुको संख्या वृद्धि हुनुपर्ने उल्लेख गरेकी छिन्।
उनले बाघको संरक्षण र संख्या वृद्धि नेपालको पर्यटन प्रवर्धन एवं आर्थिक विकासका लागि महत्वपूर्ण हुने भएकाले संरक्षणका नवीनतम उपाय अवलम्बन गर्दै यसलाई निरन्तरता दिन सम्बद्ध निकाय, जनसमुदाय र संरक्षणकर्मीलाई आह्वान गरेकी छिन्।