अफगानिस्तानको राजधानी काबुलमा प्रवेश गरेर राष्ट्रपति भवन कब्जामा लिएसँगै तालिबानले विजय भएको दाबी गरेका छन् । त्यहाँको सरकार गिरेको छ र राष्ट्रपति अशरफ गनी देश छाडेर भागेका छन् ।
तालिबानका एक प्रवक्ताका अनुसार अफगानिस्तानमा युद्ध सकिएको छ । ‘हामीले चाहेको कुरा प्राप्त गरेका छौँ, हाम्रो देशको मुक्ति अनि हाम्रा जनताको स्वतन्त्रता,’ उनले भने । उनले अब फेरि विदेशी शक्तिहरूले अफगानिस्तानमा तिनको विगतको विफल अनुभव नदोहोर्याउने आफूहरूले ठानेको बताए ।
राष्ट्रपति गनी कहाँ छन् ?
तालिबान राजधानी काबुल प्रवेश गर्नासाथ आइतबार अफगानिस्तानका राष्ट्रपति असरफ गानी मुलुक छाडेर भागेका थिए । साथै उपराष्ट्रपति अमिरुल्लाह सालेहले पनि काबुल छाडेको रिपोर्ट आएको छ ।
तालिबान काबुलमा छिरेपछि अफगान अधिकारीले पत्रकारसँग राष्ट्रपति भागेको जानकारी गराएका थिए । सुरुवाती रिपोर्टअनुसार राष्ट्रपति गानी ताजकिस्तानतर्फ भागेको जानकारी प्राप्त भएको थियो । तर अलजजिरारे रिपोर्ट गरेको छ- राष्ट्रपति गानी, उनकी पत्नी, सेना प्रमुख र राष्ट्रिय सुरक्षा सल्लाहकार उज्बेकिस्तानको राजधानी तासकन्द गएका छन् ।
अलजजिराले राष्ट्रपतिका व्यक्तिगत बडिगार्डको भनाइ उद्धृत गर्दै यो दाबी गरेको हो । तर अफगान सरकारले यसको पुष्टि गरेको छैन । आइतबार अबेर तालिबानहरू राष्ट्रपति भवनभित्र रहेका तस्बिर सार्वजनिक भएका थिए ।
झन्डै ६ हजार अमेरिकी सैनिक काबुलमा तैनाथ भएकै बेला तालिबानहरू आइतबार साँझ राष्ट्रपति कार्यालयमा प्रवेश गरेका हुन् । तालिबान लडाकु र कमाण्डरले राष्ट्रपति बस्ने कुर्सीमा बसेर तस्बिरहरू खिचेका थिए ।