×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पेट्रोल प्रतिलिटर ४.७९ रुपैयाँ घटेर आयो नयाँ मूल्यसूची

पेट्रोल प्रतिलिटर ४.७९ रुपैयाँ घटेर आयो नयाँ मूल्यसूची

काठमाडौँ- इन्डियन आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । नेपाल आयल निगमका निमित्त उपप्रबन्ध निर्देशक नागेन्द्र साहका अनुसार आईओसीले अप्रिल १६ तारिकमा नयाँ मूल्य सूची पठाएको हो । तर, निगमले यसपाली भने हालसम्म मूल्यसूची सार्वजनिक गरेको छैन । यसअघि मूल्य बढेर आउँदा निगमले मूल्य सूची प्राप्त भएकै दिन वा भोलिपल्ट सूची सार्वजनिक गर्ने गरेको थियो ।

आईओसीले पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोल प्रतिलिटर ४ रुपैयाँ ७९ पैसा घटेर आएको छ । तर, डिजेल र हवाई इन्धनको मूल्य बढेर आएको उनले बताए ।

‘पेट्रोलको मूल्य घटेको छ,’ उनले भने, ‘तर कुल पेट्रोलियम खपतको ६० प्रतिशत हिस्सा रहेको डिजेलको मूल्य भने प्रतिलिटर २ रुपैयाँ २ पैसाले बढेको छ । यसले निगमको घाटा केही कम भए पनि घाटा पूरै हट्दैन ।’

उनका अनुसार नयाँ मूल्य सूची अनुसार हवाई इन्धनको मूल्य प्रतिलिटर ३८ पैसाले बढेको छ ।

‘हामी निर्वाचनको संघारमा छौँ,’ उनले भने, ‘निर्वाचनका क्रममा पेट्रोलियमको खपत साविकको तुलनामा बढ्छ । बढेको मूल्यमा डिजेलको खपत बढ्ने र घटेकै मूल्यमा पनि पेट्रोल लगायत समग्र इन्धनको खपत बढ्दा निगमको घाटा कम हुने देखिएको छैन ।’

नेपाल आयल निगमले हाल पेट्रोल प्रतिलिटर १ सय ६० रुपैयाँ, डिजेल १ सय ४३ रुपैयाँ, हवाइ इन्धन १ सय ५६ रुपैयाँ र खाना पकाउने एलपी ग्यास १ हजार ६ सय रुपैयाँमा उपलब्ध गराउँदै आएको छ ।

प्रतिकृया दिनुहोस्