×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नक्कली भुटानी शरणार्थी प्रकरण : थप दुई विचौलिया पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरण : थप दुई विचौलिया पक्राउ

काठमाडौं-  प्रहरीले नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर ठगी गरेको आरोप लागेकामध्ये थप दुई विचौलियालाई आज काठमाडौंबाट पक्राउ गरेको छ।  काठमाडौंको टोखा बस्ने रामशरण केसी र मोरङ घर भएका गोविन्द चौधरीलाई मंगलबार पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी प्रवक्ता, प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो। 

उहाँका अनुसार उनीहरू उक्त घटनामा विचौलिएका रूपमा काम गरेको पाइएपछि पक्राउ गरिएको हो। उनीहरूलाई बानेश्वर क्षेत्रबाट पक्राउ गरिएको बताइएको छ। 

यसअघि पक्राउ परेकामा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित बहालवाला सचिव (तत्कालीन गृह सचिव) टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङ छन्। 

पक्राउ पूर्जी जारी भएका नेकपा (एमाले) का सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी अहिले सम्पर्कमा नभएकाले खोजी जारी रहेको प्रहरीले जनाएको छ।  जिल्ला प्रहरी परिसरले उनीहरू विरुद्ध सङ्गठित अपराधमा अनुसन्धान गरिरहेको छ। यसको अनुसन्धानका लागि प्रहरीले ६० दिन समय पाउँछ। उक्त घटनामा हालसम्म एक सय छ जनाले २० वटा जाहेरी दिएका छन्। उनीहरूले कूल २३ करोड २५ लाख ठगी भएको भनी जाहेरी दिएका छन्। 

पक्राउ परेका दुवै जनालाई आजै थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाइसकेको पनि रेग्मीले जानकारी दिनुभयो। यो प्रकरणमा मुछिएका नेकपा (एमाले)सचिव टोपबहादुर रायमाझी भने फरार हुनुहुन्छ। मंगलबार मात्र प्रहरीले ललितपरमा रहेको उहाँको घरमा छापा मारेको छ। रासस

प्रतिकृया दिनुहोस्