काठमाडौं - मंसिर ४ को निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो बैठक आज(सोमबार) बस्दै छ। बैठक प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाको अध्यक्षतामा बस्ने छ ।
बैठकमा ज्येष्ठ सदस्य राणाले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ ।
यस्तै प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्ड नियुक्त भएको पत्र र मन्त्रिपरिषद् गठन भएको जानकारी पनि सदनलाई गराइने भएको छ ।
त्यसै गरी सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन हुनेछ भने अधिवेशन शुभारम्भ भएको अवसरमा दलीय आधारमा सांसदहरूले आफ्नो मन्तव्य राख्नेछन् ।
अधिवेशन सुरु भएको पहिलो बैठकमा शीर्ष नेताहरुले शुभकामना दिने विगतदेखिकै प्रचलन छ ।
त्यसअनुसार सोमबार प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, रास्वपाका सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी लगायतले शुभकामनासहित आफ्नो धारणा राख्नेछन् । बैठक दिउँसो १ बजेका लागि डाँकिएको छ ।