काठमाडौँ । काठमाडौं किङ्स-११ ले एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा विजयी सुरुवात गरेको छ । त्रिवि मैदान कीर्तिपुरमा शनिवार (आज) भएको उद्घाटन खेलमा ललितपुर प्याट्रीएट्सलाई ७ विकेटले हराउँदै काठमाडौंले विजयी सुरुवात गरेको हो ।
१ सय ५८ रनको लक्ष्य काठमाडौंले १४ ओभर २ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । काठमाडौंको जितमा रायन ब्रुलले नटआउट ७३ र रहमानउल्लाह गुर्बाजले ५९ रन बनाए । ब्रुलले ३४ बलमा ३ चौका र ७ छक्का प्रहार गरे भने गुर्बाजले ३६ बलमा ४ चौका र ४ छक्का हाने ।
ललितपुरका पवन सर्राफले १ विकेट लिए । हारेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो । ललितपुरका लागि पवन सर्राफले ६१ रन बनाए भने योगेन्द्रसिंह कार्कीले ३३ रनको योगदान गरे ।
काठमाडौंका जितेन्द्र मुखियाले ४ विकेट लिए । रायन ब्रुल र गुलशन झाले २-२ विकेट लिए । यस जितसँगै काठमाडौंले पहिलो खेलमा २ अंक जोडेको छ । साबिक बिजेता ललितपुरको भने शुरूवात कमजोर भएको छ ।