अडिस एबाबा: इथियोपियाको टिग्रे क्षेत्रमा भएको पछिल्लो द्वन्द्वका कारण चार लाख मानिसहरु भोकमरीको चपेटामा परेको संयुक्त राष्ट्र संघीय अधिकारीहरुले बताएका छन् । संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्का सदस्यले यस संकटका विषयमा गरेको पहिलो बैठकमा करिब ३३ हजार बालबालिका कुपोषणको सिकार भएको समेत बताएका छन् ।
आट महिनासम्म चलेको द्वन्द्वका कारण थप १८ लाख मानिसहरु भोकमरीको चपेटामा पर्ने बताइएको छ । युद्धविराम घोषणाका बाबजुद फेरि द्वन्द्व भड्किन सक्ने चेतावनीसमेत दिइएको छ ।
टिग्रे लिब्रेसन फ्रन्ट र सरकारी सुरक्षाबलबीच भएको युद्धमा हजारौं मानिसहरु मारिएका छन् भने दुई लाखभन्दा बढी मानिसहरु विस्थापित भएका छन् ।
शुक्रबार संयुक्त राष्ट्र संघ मानवीय सहायता प्रमुखले सुरक्षा परिषद्लाई टिग्रेको अवस्था पछिल्ले साता बिग्रिँदै गएको बारे जानकारी गराएका छन् । त्यहाँ मानवीय सहायताको आवश्यकता भएकोसमेत जनाइएको छ । करिब पाँच लाख २० हजार मानिसहरुलाई मानवीय सहायता आवश्यक रहेको जनाइएको छ ।