काठमाडौं - आसन्न निर्वाचनमा रूपन्देही-३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. लेखजंग थापाले आफ्नो व्यक्तिगत जीवनमाथि उठाइएका प्रश्नहरूलाई लिएर सार्वजनिक रूपमा एक मार्मिक स्पष्टीकरण दिएका छन्। उनले यी हमलाहरू व्यक्तिगत रूपमा आफूमाथि नभई सुसंस्कृत राजनीतिको यात्रामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीमाथि लक्षित सुनियोजित आक्रमण भएको ठोकुवा गरेका छन्।
आमाको आशीर्वादको धोको अधुरै, डाक्टर थापा काठमाडौंमा 'सफाई' दिँदै
९६ वर्षीया आमालाई भेटेर उम्मेदवार बनेको खुसी बाँड्ने र आशीर्वाद लिने आफ्नो तीव्र इच्छा पूरा हुन नपाएकोमा थापाले गहिरो वेदना व्यक्त गरेका छन्। "पहिलो फ्लाइट लिएर आमालाई आफू उम्मेदवार भएको खुसी बाँडेर आशीर्वाद लिने मन थियो," उनले भने, "खैर जिन्दगी सोचे जस्तै कहाँ हुन्छ र? मलाई आशीर्वाद दिन भैरहवामा मेरी आमा मलाई कुर्दै गर्दा म काठमाडौँमा मेरो निजी जीवनमाथि प्रश्न गर्नेहरूलाई उत्तर दिँदैछु।"
आफ्नो पारिवारिक जीवनबारे उठेका प्रश्नहरूको प्रतिवाद गर्दै डा. थापाले आफ्नो निजी जीवन पूर्णतः वैध र समस्यारहित रहेको प्रष्ट पारेका छन्। उनले परिस्थितिजन्य कारणले जीवनमा दुई पटक विवाह गरेको र एक श्रीमतीसँगको सम्बन्ध विच्छेद भएको सत्यता स्वीकार गरे। तर, सम्बन्ध विच्छेद भएकी श्रीमतीसँगको आफ्नो सन्तानप्रतिको जिम्मेवारी र सौहार्दपूर्ण सम्बन्धलाई उनले जोड दिए। "सम्बन्ध विच्छेद भएकी मेरी श्रीमतीसँगको मेरो सन्तान हो जसको म बाबा पनि हो," उनले भने, "सन्तानको भविष्यका लागि उसलाई जन्म दिने आमासँग मिलेर साझा अभिभावकत्व दिनका लागि यदि मेरो सम्बन्ध सौहाद्रपूर्ण छ र त्यो यदि मेरो गल्ती हो भने मलाई त्यसमा ग्लानी छैन।"
चौध वर्ष लामो न्युरोचिकित्सकको यात्रामा हजारौं बालबालिकाहरूको नजिकबाट मनोविज्ञान नियालेका डा. थापाले पारिवारिक सम्बन्धको असर बालबालिकामा पर्नु नहुने कुरामा आफू सचेत रहेको बताए। उनले सम्बन्ध विच्छेद भन्दैमा एकअर्कालाई गाली गर्नुपर्ने वा शत्रुवत् व्यवहार गर्नुपर्ने सोचाइ गलत भएको उल्लेख गरे। "यदि मेरो छोराले उसको बाबाको सम्बन्ध आमासँग सुमुधर होस् भन्ने चाहन्छ भने ऊ नाबालिग हुँदासम्म मात्र होइन म बाचुन्जेल सम्बन्धको त्यो पक्ष दरिलो बनाउन चाहन्छु। त्यसमा मलाई कसैको अनुमति लिनु पर्दैन," उनले भने।
"यो ममाथि होइन, राष्ट्रिय स्वतन्त्र पार्टीमाथि सुनियोजित आक्रमण!" – डा. थापाको आक्रोश
डा. थापाले आफूमाथि भइरहेका यी हमलाहरू देशमा झाँगिँदै गएको बेथिति र विसंगतिमा रमाउनेहरूले राष्ट्रिय स्वतन्त्र पार्टीको स्वच्छ राजनीतिक अभियानमाथि गरेको सुनियोजित प्रहार भएको आरोप लगाए। उनले नेता बन्न नभई देश बदल्ने अभियानको सहयात्री बन्न राजनीतिमा आएको स्पष्ट पारे। "विराट लक्ष्य लिएर हिँडेको व्यक्ति यस्ता कुनै खाले आक्रमणबाट डराउनु हुँदैन," उनले भने, "तर मेरो व्यक्तिगत कारणले पार्टीमाथि सानो दाग पनि लागोस् भन्ने म किन्चित चाहन्न।"
त्यागको लागि तयार: "म बल हुन चाहन्छु, कमजोरी होइन!"
डा. थापाले आफू राष्ट्रिय स्वतन्त्र पार्टीको 'उम्मेदवार छनोट विधि' अन्तर्गत ३५ दिन लामो बहुआयामिक प्रक्रियाबाट छनोट भएको तथ्य अवगत गराउँदै पार्टीले गर्ने कुनै पनि निर्णयलाई सहर्ष स्वीकार गर्ने प्रतिबद्धता जनाए। उनले रूपान्तरणको सुनामी ल्याउन हिँडेको व्यक्ति जस्तोसुकै त्यागका लागि पनि तयार रहेको बताउँदै आफू देश बदल्ने अभियानमा बल बन्न चाहेको, कमजोरी नभएको बताए।