काठमाडौँ- भृकुटीमण्डपस्थित फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गरेको मुद्दामा नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ दोषी ठहर भएका छन्। ।
विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले गुरुङलाई मतियारको रुपमा दोषी ठहर गरेको हो।
विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीका अनुसार यस मुद्दामा गुरुङसहित ९ जना दोषी ठहर भएका छन् भने ५ जनालाई सफाइ दिइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ माघ २०७५ मा गुरुङसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
यसको सजाय भने फागुन २५ मा सुनाइने जानकारी पनि विशेषले दिएको छ।
बद्री न्यौपाने समाज कल्याणमन्त्री तथा समाज कल्याण परिषदको अध्यक्ष हुँदा भृकुटीमण्डको ६० रोपनी जग्गा आर्थिक लेनदेन गरेर बिना प्रतिस्पर्धा टेकबहादुर गुरुङलाई भाडामा दिने निर्णय गरेको भन्दै अख्तियारले न्यौपानेसहित निर्णय प्रक्रियामा सहभागी समाज कल्याण परिषद्का तत्कालीन पदाधिकारीविरुद्ध मुद्दा दायर गरेको थियो।
न्यौपाने मन्त्री हुँदा २०६९ साल भदौ २० गते प्रतिमहिना पाँच लाख ५५ हजारमा १५ वर्षका लागि भाडामा दिने निर्णय गरेका थिए। अख्तियारले त्यति रकममा भृकुटीमण्डको ६० रोपनी जग्गा भाडामा दिँदा प्रतिमहिना प्रतिरोपनी जग्गामा नौ हजार दुई सय ५० रुपैया घाटा भएको निष्कर्ष निकालेको थियो।
गुरुङले २०६० सालदेखि भृकुटीमण्डपको ६० रोपनी क्षेत्र भाडामा लिँदै आएका थिए।
आयोगले अनुसन्धानका क्रममा जग्गा भाडामा लगाउँदा सार्वजनिक खरिद ऐन र परिषदकै नियमावली विपरीत निर्णय गरेको ठहर गरेको प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।
आयोगले हालसम्म उक्त ठेक्काबाट समाज कल्याण परिषदलाई ३१ करोड ५२ लाख १७ हजार ६ सय ७५ रुपैयाँ घाटा भएको र त्यति रकम निर्णय प्रक्रियामा सहभागी भएकाहरुबाट असुल उपर गर्न माग गरेको थियो।
परिषदकै नाममा रहेको भृकुटीमण्डपकै इच्छुमति तरकारी बजारलाई प्रतिरोपनी ७८ हजार पाच सय ७१ मा दिइएको तर सँगै रहेको फनपार्कको भाडामा भने त्यसको तुलनामा निक्कै कम रहेको अभियोग पत्रमा उल्लेख थियो।
आयोगले अध्यक्ष न्यौपाने सँगै परिषदका तत्कालिन उपाध्यक्ष प्रमोद मेहता, कोषाध्यक्ष कुञ्ज बिहारीप्रसाद चौधरी, तत्कालिन सदस्य हरि न्यौपाने, सदस्य मोहनराज शर्मा, सदस्य मदनकुमार लाल कर्ण र परिषद्का तत्कालिन सदस्यसचिव रविन्द्रकुमालगायत विरुद्ध मुद्दा दायर गरेको थियो।