×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

लुम्बिनीमा सत्ता गठबन्धनलाई थप मजबुद बनाइने

लुम्बिनीमा सत्ता गठबन्धनलाई थप मजबुद बनाइने

काठमाडाैँ- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा लुम्बिनी प्रदेशमा गठबन्धनलाई अझै मजबुद बनाउन पाँच दलीय गठबन्धन दल सहमत भएका छन् । 

नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यालय बुटवलको तामनगरमा आज बसेको सत्ता साझेदार दलको बैठकले आगामी निर्वाचनमा साझा उम्मेदवार तयार गर्नका लागि आ–आफ्नो पार्टीका तर्फबाट विस्तृत रिपोर्ट तयार गरी छलफल गर्ने निर्णय गरेको हो ।

बैठकले स्थानीय तह निर्वाचनको समीक्षा गर्दै विभिन्न कमी कमजोरीका बाबजुद गठबन्धन सफल भएको निष्कर्ष पनि निकालेको नेपाली कांग्रेसका प्रदेश सभापति अमरसिंह पुनले जानकारी दिए ।

स्थानीय तह निर्वाचनको सन्दर्भमा निर्माण गरिएको प्रदेश र जिल्ला तहको संयुक्त संयन्त्र पुनः क्रियाशील बनाइ बैठक र अन्तक्र्रिया अगाडि बढाउने निर्णय पनि आजको सो बैठकमा गरिएको छ ।

गठबन्धन दलको केन्द्रबाट आउने निर्णय र निर्देशनलाई कार्यान्वयन गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकमा नेपाली कांग्रेसका प्रदेश सभापति पुनसहित नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बराल, नेकपा समाजवादीका प्रदेश सचिव राजु गुरुङ, जसपाका प्रदेश अध्यक्ष अशोक यादव सहभागी हुनुभएको थियो । बैठकमा राष्ट्रिय जनमोर्चा भने सहभागी थिएन ।

सरकारले आगामी मङ्सिर ४ गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन गर्ने निर्णय गरेपछि प्रदेशमा सत्ता गठबन्धन सहितका विभिन्न दल तयारीमा जुटेका छन् ।

प्रतिकृया दिनुहोस्