काठमाडौं- महोत्तरीकी सोनाली कुमारी सिहं निहारिकाले अनशन तोडेकी छिन् । सरकारसँग पाँचबुँदे सहमति भएपछि सोनालीले अनशन तोडेको राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णा पौडेल खतिवडाले जानकारी दिइन् । न्यायको माग गर्दै २७ जेठदेखि सोनाली आमरण अनशनमा बसेकी थिइन् ।
बिहीबार राति गृहमन्त्री बालकृष्ण खाँणको हातबाट जुस पिउँदै सोनालीले अनशन तोडेकी हुन् । दुई पक्षबीच आरोपी शिवराम श्रेष्ठ र सोनालीका छोराको डीएनए परीक्षणको कानुनी प्रक्रिया अघि बढाउन पहल गर्ने, सोनाली र उनका छोराको सुरक्षा आवास व्यवस्थापनका लागि गृह मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत पहल गर्ने सहमति भएको छ ।
यस्तै सोनालीको आर्थिक सहायताका लागि गृह मन्त्रालयमार्फत पहल गर्ने र न्याय राज्यका सम्पूर्ण निकाय पीडितमैत्री बनाउन पहल गर्ने सहमति पनि भएको छ ।