काठमाडौँ- आर्थिक वर्ष २०७९/८० को दोस्रो कारोबार दिन सोमबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अङ्कले वृद्धि भएको छ । कारोबार अवधिभर उतारचढाव देखिएको सेयर बजारमा अन्तिम समयमा दोहोरो अङ्कले वृद्धि भएर बन्द भएको हो ।
सोमबार नेप्से १८.०३ अङ्क (०.९० प्रतिशत) ले बढेर २०२९.४३ अङ्कमा बन्द भएको छ । सामूहिक लगानी कोष र व्यापार बाहेक सबै उपसूचकमा वृद्धि भएको छ । व्यापार उपसूचक सबैभन्दा धेरै ४.९३ प्रतिशतले वृद्धि भएको छ ।
नेप्से करिब १ प्रतिशतले वृद्धि हुँदा कारोबार रकम भने बढ्न सकेन । आइतबार १ अर्ब २३ करोड २५ लाखको कारोबार भएको बजारमा सोमबार ३१ लाख ४२ हजार ४०२ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ३१ करोड ३० लाखको कारोबार भएको छ ।
कारोबारमा आएकामध्ये शिवम् सिमेन्ट लिमिटेडको ९ करोड ३५ लाखको कारोबार भएको छ । यस्तै एसियन लाइफ इन्स्योरेन्सको ७ करोड ३९ लाखको कारोबार भएको छ ।
सोमबार धेरै मूल्य बढ्नेमा बरुण हाइड्रोपावर कम्पनी रहेको छ । कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले वृद्धि भएर सर्किट लेभलमा बन्द हुँदा इमर्जिङ नेपालको सेयर मूल्य ९.६२ प्रतिशतले बढेको छ । यता सानिमा लार्ज क्याप फण्डको इकाइ मूल्य सवार्धिक ५.९० प्रतिशतले गिरावट हुँदा कुमारी इक्युटी फण्डको इकाइमूल्य ५.७६ प्रतिशतले गिरावट भएको छ । सूचीकृत कम्पनीमा स्वाबलम्बन लघुवित्तको सेयर मूल्य २.९१ प्रतिशतले घटेको छ ।
कारोबार अवधिभर १७९ कम्पनीको सेयर कारोबार भएकोमा १४३ कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै २७ कम्पनीको सेयर मूल्य गिरावट हुँदा ९ सूचीकृत कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।