काठमाडौँ- चिनियाँ मामिला जानकार रुपक सापकोटाले अन्तर्राष्ट्रिय साझेदारीमा सदनको भुमिका देखिनु नेपालका लागि नयाँ आायम भएको बताउनुभएको छ । विश्वका विकसित देशहरुले नेपालको संसदसँग साझेदारी र सहकार्यको नयाँ आयाम थप्नुले नेपालको संसदले नयाँ उचाई छोएको बताउनुभएको हो ।
उहाँले अहिलेसम्म सरकारदेखि सरकारसम्मको सम्बन्धले चीन र नेपालको सम्बन्धमा स्थान पाएको उल्लेख गर्दै चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुको नेपाल भ्रमणबाट चीन पनि नेपालको संसदसँग सहकार्य गर्न इच्छुक रहेको भन्ने कुरा प्रमाणित भएको बताउनु भयो । उहाँले ली चान्सुको नेपाल भ्रमणले नेपाल–चीनको सम्बन्धमा महत्वपूर्ण आयाम थपिएको पनि बताउनु भयो । उहाँले नेपालले अवलम्वन गरेको सुधारिएको संसदीय व्यवस्था र संसदको बिस्तारित भुमिकालाई नियालेर चीनले सम्बन्ध बढाएको हुनसक्ने बताउनु भयो । उहाँले दुई देशबीचका सभामुखमा भएको सम्झौता हेर्दा अन्तर संसदीय सहकार्यलाई शुरुवात गर्ने कुरा उल्लेख गरिएको पनि बताउनु भयो ।
जानकार सापकोटाले अन्तर्राष्ट्रिय साझेदारीमा पनि सदनको भुमिका देखिनु सुखद् पक्ष रहेको बताउनु भयो । न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उहाँले नेपालमा भूराजनीतिक महत्व बढेका कारण पछिल्लो समय विभिन्न शक्ति राष्ट्रहरु अमेरिका, भारत र चीनबाट पछिल्लो समय धेरै सहभागिता र महत्वपूर्ण उच्चस्तरीय भ्रमणहरु भइरहेको बताउनु भयो । उहाँले अहिलेको नेपालको भूराजनीतिक महत्व बढेका कारण नै चीनको तर्फबाट चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुको नेपाल भ्रमण भएको हुनसक्ने आशंका व्यक्त गर्नुभयो । जानकार सापकोटाले भूराजनीतिक महत्व बढेसँगै नेपाललाई आफ्नो पक्ष, रणनीति, कार्यक्रममा सहभागी गराउने प्रतिष्पर्धा पनि शक्तिराष्ट्रबीचमा बढीरहेको उल्लेख गर्नुभयो । उहाँले पछिल्लो समय नेपालको सार्वभौम संसदको भुमिका बढेर गएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘विश्व राजनीतिमा आएको पछिल्लो शक्ति सन्तुलन र विश्व शक्ति राष्ट्रहरु बीचको कटु प्रतिष्पर्धातर्फ उन्मुख भइरहेको अहिलेको परिवेशमा नेपालको भूराजनीतिक महत्व बढेको छ । नेपालको भूराजनीतिक महत्व बढेसँगै विभिन्न शक्ति राष्ट्रहरु अमेरिका, भारत र चीनबाट पछिल्लो समय धेरै सहभागिता र महत्वपूर्ण उच्चस्तरीय भ्रमणहरु भइरहेका छन् । अहिले चीनको तर्फबाट चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुको नेपाल भ्रमण अहिलेको नेपालको भूराजनीतिक महत्व बढेसँगै भएको जस्तो लाग्छ । भूराजनीतिक महत्व बढेसँगै नेपाललाई आफ्नो पक्षमा, आफ्नो रणनीतिमा, आफ्नो कार्यक्रममा सहभागी गराउने प्रतिष्पर्धा पनि शक्तिराष्ट्रबीचमा बढीरहेको छ । त्यसको प्रत्यक्ष उदाहरण एमसीसी, एसपीपीबाट लिनसक्छौँ ।
आफ्ना कार्यक्रममा सहभागी गराउन शक्ति राष्ट्रहरुले चासो दिइरहेका छन् । हाम्रो राष्ट्रिय हीत, सार्वभौमिकता, राष्ट्रिय अखण्डता, राष्ट्रिय विकास र समृद्धिको महत्वकांक्षा छ, त्यसलाई सहयोग पुग्ने ढंगबाट हुनुपर्छ । अहिलेसम्म सरकारदेखि सरकारसम्मको सम्बन्धले चीन र नेपालको सम्बन्धमा स्थान पाएको छ । यो बीचमा पार्टी टू पार्टीको सम्बन्ध पनि बिस्तार भएको छ । ली चान्सुको नेपाल भ्रमणले नेपाल–चीनको सम्बन्धमा महत्वपूर्ण आयाम थपिएको छ । त्यो भनेको नेपालको संघीय संसद र चीनको जन कंग्रेसको बीचमा यसअघि सहकार्य भएको देखिँदैन ।
पछिल्लो समय सन् २०१५ मा संविधान जारी गरेपछिको अवस्था हेर्दा सार्वभौम संसदको भुमिका बढेर गएको छ । नीति निर्माणको थलोको हिसावले मात्रै नभइ कार्यकारी पनि त्यहीँ उत्पत्ति हुन्छन् । अन्तर्राष्ट्रिय साझेदारीमा पनि सदनको भुमिका देखिन थालेको छ । नेपालले अवलम्वन गरेको सुधारिएको संसदीय व्यवस्था र संसदको बिस्तारित भुमिकालाई नियालेर चीनले सम्बन्ध बढाएको देखिन्छ । अहिले दुई देशबीचका सभामुखमा भएको सम्झौता हेर्दापनि अन्तर संसदीय सहकार्यलाई शुरुवात गर्ने भनिएको छ ।’
जानकार सापकोटाले नेपालको संसदमा पनि असल संसदीय अभ्यासहरु रहेको र चीनले नेपालबाट यी असल अभ्यासहरु सिक्न लायक रहेको बताउनु भयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले यो भ्रमणले नेपाल र चीनका राम्रा संसदीय अभ्यास साटासाट हुने र संसदीय विषयहरुलाई बढवा दिने बताउनु भयो । उहाँले सरकारसँगको सम्बन्धपछि संसदबीचको सम्बन्ध र सहकार्यलाई बलियो बनाउने कुरा आफैँमा राम्रो रहेको बताउनु भयो । उहाँले संसदसँग संसदको सहकार्य छुटिरहेको अवस्थामा चीन र नेपालबीचको संसदीय सहकार्य सुचारु हुनेले नेपाल र चीनसँगको नयाँ आयाम बिस्तार भएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘नेपालका पनि असल संसदीय अभ्यासहरु छन् । त्यो चीनका लागि पनि सिक्न लायक विषयहरु छन् । यो भ्रमणले त्यो विषयलाई बढवा दिनेछ । भविष्यमा सरकार सरकारबीचको सम्बन्धपछि संसदसंसदबीचको सहकार्यलाई, पार्टी टु पार्टी सम्बन्धलाई बलियो बनाउनेछ । नेपालकै संसदीय प्रणालीको आधारमा चीनले संसदसँगको सहकार्यलाई बढाएको छ । नेपाल र चीनसँगको धेरै चारित्रिक सहकार्य मिल्न आउँछन् त्यस हिसावले पनि संसदसँग संसदको सहकार्य छुटिरहेको थियो । त्यसको उद्घाटन भएको छ । यो सम्बन्धले नेपाल र चीनसँगको नयाँ आयाम बिस्तार भएको छ ।’
जानकार सापकोटाले शक्ति राष्ट्रहरुसँग नेपालको सहकार्य बढ्नुको कारण र अन्तर्राष्ट्रिय तवरमा नै महत्व पाउने भ्रमण हुनुको पछि नेपालले अवलम्वन गर्दै आइरहेको अन्तर्राष्ट्रिय सम्बन्धको सिद्धान्त प्रमुख कारक रहेको बताउनु भयो । उहाँले अमेरिका, चीन र भारतबीचको त्रिपक्षीय शक्ति संघर्ष चलिरहेका बेला नेपाल अमुक मुलुकको रणनीतिमा सामेल भयो भने आफ्नो राष्ट्रिय सुरक्षामा असर पर्ने डरका कारण पनि चासो बढेको बताउनु भयो । उहाँले यस्ता भ्रमणलाई राम्रो पक्षबाट हेर्न आवश्यक रहेको र नेपालले यस किसिमका भ्रमणबाट देशको विकासका लागि थप सहकार्य र समझदारीहरुको पहल गर्नेकुरामा फाइदा उठाउन सक्नुपर्ने बताउनु भयो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले नेपालले अवलम्वन गर्दै आएको असंलग्न परराष्ट्र नीतिलाई झनै बलियो बनाएर लैजान आवश्यक रहेको बताउँदै सहकार्य गर्न सशंकित हुने र गरेका सहकार्यको कार्यान्वयन गर्न ढिलाइ गर्नु नहुने बताउनु भयो ।
उहाँले शक्ति राष्ट्रहरुबीचको प्रतिष्पर्धाले अहिलेको नेपालको भूराजनीतिक सुरक्षामा दखल पुग्ने कुरामा चनाखो हुन आवश्यक रहेको र आर्थिक विकास र समृद्धि अन्तर्राष्ट्रिय जल्दाबल्दा मुद्दाहरुमा सहकार्य गर्न अघि सर्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अहिले शक्ति राष्ट्रहरुसँग नेपालको सहकार्य बढ्नु, अन्तर्राष्ट्रिय तवरमा नै महत्व पाउने भ्रमण हुनुको पछि नेपालले अवलम्वन गर्दै आइरहेको अन्तर्राष्ट्रिय सम्बन्धको जुन सिद्धान्त छ र हाम्रो विदेश नीतिको जुन मुलभुत सिद्धान्त छ, हामी असंलग्न परराष्ट्र नीति अवलम्वन गर्दछौँ, पञ्चशीलको सिद्धान्तमा परराष्ट्रसँगको सम्बन्ध राख्छौं भन्नेकुरामा एउटा प्रतिवद्धता वा अर्को भाषामा भन्दा अमेरिका, चीन र भारतबीचको त्रिपक्षीय शक्ति संघर्ष छ, त्यसमा नेपाल अमुक मुलुकको रणनीतिमा सामेल हुने हो कि, त्यसले आफ्नो राष्ट्रिय सुरक्षामा असर गर्छ कि भन्नेमा चासो देखिन्छ । हामीले अवलम्वन गर्दै आएको असंलग्न परराष्ट्र नीतिलाई दरोसाथ अवलम्वन गर्नुपर्छ । केही सहकार्य नगर्ने र गरेको सहकार्यमा पनि कार्यान्वयनमा जान सशंकित हुने गर्नु हुँदैन ।
भएको सम्झौताको कार्यान्वयन अविलम्व हुने गरेको छ, त्यो अनुसारको अध्ययन, अनुसन्धान हुन सकेको छैन । हामीले विभिन्न शक्ति राष्ट्रहरुसँग गरेको सम्झौतालाई दुई ढंगले हेर्नुपर्छ । शक्ति राष्ट्रहरुबीचको प्रतिष्पर्धाले अहिलेको नेपालको भूराजनीतिक सुरक्षामा दखल पुग्छ कि ? भनेर हामी उत्तिकै गम्भीर र चनाखो रहनुपर्छ । हामीले आर्थिक विकास र समृद्धि अन्तर्राष्ट्रिय जल्दाबल्दा मुद्दाहरुमा हामी जुनकुनै शक्ति राष्ट्रहरुसँग पनि सहकार्य गर्नुपर्छ । तर अहिलेको परिस्थितिमा रणनैतिक चरित्रका सैन्य वा सामरिक चरित्रको गठबन्धन, परियोजनामा नेपाल सरिक हुनु हुँदैन । आर्थिक चरित्रका सहकार्यमा राम्रोसँग अध्ययन गरेर, तोकिएका संयन्त्रहरुबाट आर्थिक सहकार्य गर्न आवश्यक छ ।’
मामिला जानकार सापकोटाले अहिलेको परिस्थितिमा रणनैतिक चरित्रका सैन्य वा सामरिक चरित्रको गठबन्धन, परियोजनामा नेपाल सरिक हुनु नहुने बताउनु भयो । उहाँले आर्थिक चरित्रका सहकार्यमा राम्रोसँग अध्ययन गरेर र तोकिएका राज्य संयन्त्रहरुबाट मात्रै आर्थिक सहकार्य गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।