×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

धेरैजसो कम्पनीको सेयर मूल्य घट्दा पनि नेप्से बढ्यो

धेरैजसो कम्पनीको सेयर मूल्य घट्दा पनि नेप्से बढ्यो

काठमाडौँ- साताको अन्तिम दिन आज (शुक्रबार) ५ कम्पनीको सेयर मूल्य स्थिर रहँदा ७२ कम्पनीको बढ्यो भने १०४ कम्पनीको घट्यो । धेरैजसो कम्पनीको सेयर मूल्य घट्दा पनि समग्र बजारको परिसूचक नेप्से ७.९ अङ्कले बढेको छ । पुँजीकरण उच्च भएका सीमित कम्पनीले बजारलाई बढी प्रभावित पार्ने भएकाले शुक्रबार धेरैजसो कम्पनीको मूल्य घट्दा पनि नेप्से परिसूचक बढेको हो ।

शुक्रबारको कारोबारपछि नेप्से २००९ अङ्कमा कायम भएको छ । कुल १ अर्ब ४५ करोड रुपैयाँको सेयर कारोबार भयो । उपसमूहगत रुपमा उच्च पुँजीकरण भएको बैङ्किङ बढेको छ, जसले समग्र बजारलाई उकासेको छ । बैङ्किङ उपसमूह १८ अङ्क बढ्यो । विकास बैङ्क ५, जीवन बीमा ३८ र माइक्रोफाइनान्स उपसमूह ६८ अङ्क बढे ।

व्यापार १२, अन्य २५, निर्जीवन बीमा ३, उत्पादन १४, फाइनान्स ७, होटल तथा पर्यटन २० र जलविद्युत् १७ अङ्क घटे ।

धेरै मूल्य बढ्नेमा ऋणपत्र (डिवेन्चर) अगाडि रहे । इन्भेस्टमेन्ट डिवेन्चर २०८२, माछापुच्छ्रे डिबेन्चर २०८५, सानिमा डिबेन्चर २०८५ र एनआईसी एसिया डिबेन्चरको मूल्य १० प्रतिशत बढ्यो ।

वाणिज्य बैङ्कमा माछापुच्छ्रे बैङ्कको सेयर मूल्य सबैभन्दा बढी ८.५ प्रतिशत बढ्यो । ग्रिन लाइफ हाइड्रोको मूल्य सबैभन्दा धेरै ५ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा माथिल्लो तामाकोसी, एभरेस्ट बैङ्क, किसान लघुवित्त (संस्थापक), हिमालयन डिस्टिलरी र अरुणकाबेली क्रमश: अगाडि रहे ।

 

प्रतिकृया दिनुहोस्