काठमाडौं - मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत तुइनखोलामा खसेको पहिरोले गर्दा केही दिनयता यात्रुहरूले दैनिकजसो सास्ती भोगिरहेका छन्। पहिरो हटाएर यातायात सञ्चालन गरिए पनि पहिरो खस्ने र सडक अवरुद्ध हुने क्रम रोकिएको छैन। निरन्तर ढुंगा खसिरहेकाले सडकमा नियमित यातायात सञ्चालन गर्न समस्या भइरहेको छ। दसैँको समयमा बाटो बन्द हुँदा सर्वसाधारण मारमा परेका छन्।
वैकल्पिक मार्गको सम्भावना: गण्डकी प्रदेशको गौरवको योजना
मुग्लिन–नारायणगढ सडकको विकल्पमा तनहुँको खैरेनीटार हुँदै डेढगाउँ निस्कने मार्ग प्रयोग गर्न सकिन्छ। यो सडकलाई गण्डकी प्रदेश सरकारले गौरवको योजनाको रूपमा राखेको छ। मुस्ताङदेखि तराई जोड्ने गरी यो सडक प्रदेश सरकारले निर्माण गरिरहेको छ।
साना सवारीसाधनका लागि यो सडक उपयुक्त छ। दमौली–खैरेनीटारबाट बायाँतर्फ भीमाद–मानपुर हुँदै डेढगाउँ–वुलिङटार–ढोडेनी–गैंडाकोट पुग्न सकिने यो बाटो प्रयोगमा आइसकेको प्रकाशचन्द्र भट्टराईले जानकारी दिए।
वैकल्पिक मार्गको दूरी:
मुग्लिनदेखि खैरेनीटारसम्म: ७० किलोमिटर
खैरेनीटार–भीमाद: ७ किलोमिटर (कालोपत्रे)
भीमाद–मानपुर: ३५ किलोमिटर (कच्चीसडक)
मानपुर–डेढगाउँ: ४० किलोमिटर (कालोपत्रे)
डेढगाउँदेखि नारायणगढ: ७० किलोमिटर
मोटरसाइकलका लागि अर्को विकल्प
मोटरसाइकल चालकहरूले दमौलीबाट केशवटार, सुखौरा, हुस्लाङ, धरमपानी हुँदै घुमाउने झोलुंगे पुल तरेर मुग्लिन–नारायणगढ सडकखण्ड निस्किएर यात्रा गर्न सक्ने धरमपानीका स्थानीय विजय रानाले बताए। मुग्लिनको बाटो अवरुद्ध भएपछि केही मोटरसाइकल चालकले यही बाटो प्रयोग गरिरहेको उनले जानकारी दिए।