जापान । विश्वभर छरिएर रहेका नेपाली साहित्यकारहरूको साझा संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को आगामी २०२६–२०२८ कार्यकालका लागि सम्पन्न अनलाइन निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। विश्वभर रहेका आजीवन सदस्यहरूको सहभागितामा सम्पन्न निर्वाचनले अनेसासले लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ बनाएको सन्देश दिएको छ । निर्वाचन समितिका अनुसार कुल आजीवन सदस्यमध्ये ४८.४२ प्रतिशत मत खसेको थियो। अध्यक्षदेखि सदस्यसम्मका अधिकांश पदमा प्रतिस्पर्धात्मक निर्वाचन भएको थियो।
सबैको चासोको केन्द्र बनेको अध्यक्ष पदमा लालगोपाल सुवेदी विजयी हुनुभएको छ। सुवेदीले ९३३ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी सुरेन उप्रेतीले ५५४ मत प्राप्त गर्नुभयो। वरिष्ठ उपाध्यक्ष पदमा भएको प्रतिस्पर्धामा तारा अधिकारी ७८४ मतसहित विजयी हुनुभयो। उहाँका प्रतिस्पर्धी सुदीपभद्र खनालले ७०० मत प्राप्त गर्नुभयो। मतान्तर अपेक्षाकृत कम रहेकाले यो पदको प्रतिस्पर्धा निकै रोचक बनेको थियो । अमेरिका क्षेत्रीय उपाध्यक्ष पदका लागि तीन उम्मेदवारबीच प्रतिस्पर्धा भएकोमा सकुन ज्ञवाली ९०३ मतसहित निर्वाचित हुनुभयो। गीता बजगाईंले ४५३ मत र अग्नि पराजुलीले ७२ मत प्राप्त गर्नुभयो ।
महासचिव पदमा राजु सिटौलाले अत्यधिक मतसहित स्पष्ट जित निकाल्नुभयो। उहाँले १,२०२ मत प्राप्त गर्दा प्रतिस्पर्धी सहदेव कोइरालाले २७१ मत प्राप्त गर्नुभयो । सबैभन्दा बढी प्रतिस्पर्धा सदस्य पदमा देखिएको थियो। पाँच सदस्य पदका लागि आठ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए। मतपरिणामअनुसार राजेन्द्र केसीले सबैभन्दा धेरै १,७०० मत प्राप्त गर्दै शीर्ष स्थान हासिल गर्नुभयो। त्यसपछि मिरा कोइराला १,२०३ मत, महेश्वर पन्त १,०८९ मत, हरिमाया अधिकारी ९४४ मत र डा. पारसमणि दंगाल ९३० मतसहित विजयी हुनुभयो। अन्य उम्मेदवारमध्ये डा. कृष्ण शाह ‘यात्री’ ले ८३२ मत,नीलकण्ठ सुवेदीले ६४६ मत तथा पिपलमणि सिग्देलले ६३४ मत प्राप्त गर्नुभयो।
विश्वका विभिन्न मुलुकमा रहेर नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा सक्रिय अनेसासले नयाँ नेतृत्वसँगै आगामी दुई वर्षमा साहित्यिक सिर्जना, अन्तर्राष्ट्रिय सहकार्य र विश्व नेपाली साहित्यकारबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ। निर्वाचन परिणामसँगै विजयी पदाधिकारी तथा सदस्यहरूलाई शुभकामनाको ओइरो लागेको छ भने पराजित उम्मेदवारहरूको लोकतान्त्रिक सहभागितालाई पनि साहित्यिक वृत्तमा सकारात्मक रूपमा हेरिएको छ।