काठमाडौं - काठमाडौं महानगरपालिकाले सडकका पाेलमा टाँगिएका अव्यवस्थित तार हटाउने भएको छ । यसअघि महानगरले अव्यवस्थित तार हटाउन सम्बन्धित सेवाप्रदायकहरूलाई १५ दिनकाे समय दिएकाे थियाे । तर यो अवधिमा समस्या सुनुवाइको सट्टा तार व्यवस्थापन गर्दा इन्टरनेट लगायत सेवा अवरुद्ध हुनसक्ने कारण देखाउँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सो कार्य नगर्न महानगरलाई पत्राचार गरेको थियो ।
"समस्यालाई यथावत् राखेर हामीले व्यवस्थित र सुन्दर महानगर प्राप्त गर्न सक्दैनौँ," शाहले भनेका छन्, "आगलागीको जोखिम कम गर्न र व्यवस्थापन गर्न काठमाडौं महानगर आफ्नो अधिकारभित्र रहेर कार्य गर्न तत्पर छ ।"
फेसबुकमा उनी लेख्छन्, "सहर व्यवस्थित, सुन्दर बनाउन तथा नागरिकको जनधनको सुरक्षाका लागि हामी क्रियाशील छौँ । यसमा कतिपय अवस्थामा तत्कालका लागि कसैलाई असुविधा पुग्न सक्छ, तर तपाईंहरूले साथ दिनुहुनेछ भन्ने अपेक्षा राख्दछौं ।"
सहरमा भएको अव्यवस्थित तारका कारण पछिल्लो एक वर्षमा ५३ ठाउँमा आगलागी भएको तथ्याङ्क शाहले सार्वजनिक गरेका छन् । यसलाई व्यवस्थित बनाउन, एकीकृत विकासका लागि सम्बन्धित कानून बनाउन आग्रह गरेको धेरै भइसके पनि त्यसबारे कुनै सुनुवाइ नभएको उनको गुनासो छ ।
"त्यसतिर कुनै सुनुवाइ नभएर हामीले १५ दिन पहिले सडकको पोलमा रहेको तारको व्यवस्थापन गर्न भनेर सूचना जारी गरेका थियौँ । यसबीच पनि यो समस्या सुनुवाइ होला भन्ने आश थियो । तर त्यसको विपरीत त्यो तार व्यवस्थापन गर्दा इन्टरनेट लगायत सेवा अवरुद्ध हुन सक्ने कारण देखि यस्तो कार्य नगर्न आदेश प्राप्त भयो," उनी भन्छन् ।
यता इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आईस्पान) ले भने अव्यवस्थित तार व्यवस्थापनका पक्ष, सेवा अवरुद्ध नहुने पक्ष र अन्य विभिन्न पक्षलाई ध्यानमा राखेर कार्य गर्ने कुरामा छलफल भइरहेकाे प्रतिक्रिया दिएकाे छ ।