काठमाडौँ- नेपाल टेलिकमले उपलब्ध गराइरहेका विभिन्न सेवाको महसुलमा साउन १ (आज) देखि नयाँ दर लागू भएको छ । सरकारले हाल लिँदै आएको १३ प्रतिशत दूरसञ्चार सेवा दस्तुरलाई २०७९ साउन १ देखि लागू हुने गरी १० प्रतिशत गर्दा हुने नयाँ महसुल दर कायम गरिएको हो ।
कम्पनीले उपलब्ध गराइरहेको प्याकेजबाहेकको साधारण महसुल दरअन्तर्गतका भ्वाइस र डाटा सेवा तथा पीएसटीएन, एडीएसएल र एफटीटीएचलगायत सेवाको महसुलमा लाग्दै आएको दस्तुरमा ३ प्रतिशत रकम स्वतः घट्नेछ । साउन १ देखि समर अफरअन्तर्गत विभिन्न प्याकेज उपलब्ध गराइने टेलिकमले जनाएको छ ।
पहिले उपलब्ध सबै अफरलाई अब उही मूल्यमा थप डाटा तथा भ्वाइस मिनेट अफरका साथ उपलब्ध गराइनेछ । टेलिकमका अनुसार केही अफरमा उही मूल्यमा पहिले भन्दा ४ गुणासम्म बढी डाटा भोल्युम थप भएका छन् ।
यसबाहेकका डाटा प्याकेज, भ्वाइस प्याकेज, एक दिने तथा एक मासिक प्याकेजमा समेत सोहीअनुसारको रिसोर्स थप गरी आकर्षक बनाइएको टेलिकमले जनाएको छ ।
सीयूजी १००० मा १० जीवी डाटा प्रदान गर्दै आएकामा अब ४० जीवी प्रदान गरिनेछ। त्यस्तै सीयूजी १५०० मा २० जीवी डाटा प्रदान गर्दै आएकोमा अब ८० जीवी प्रदान गरिनेछ । पोस्टपेड, प्रिपेडलगायतका अन्य विभिन्न अफरहरूमा पनि थप रिसोर्स प्रदान गरिएको छ ।