काबुल, दक्षिणी र पश्चिमी अफगानिस्तानका तीन प्रमुख सहरमा तालिबान र अफगान सशस्त्र बलबीच युद्ध जारी छ । यी सहरहरूमा हालसम्म अफगान सरकारको शासन छ र तालिबान आफ्नो कब्जामा लिन चाहिरहेको छ ।
तालिबान लडाकु हेरात, लश्कर गाह र कन्धारका केही क्षेत्रमा प्रवेश गरिसकेको छ । अमेरिकी र विदेशी सैनिक फिर्ता भएसँगै तालिबानले अफगानिस्तानमा आफ्नो क्षेत्राधिकार बढाउन सुरू गरिदिएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले सेप्टेम्बरसम्म सबै विदेशी सैनिक अफगानिस्तानबाट फर्किने घोषणा गरेका थिए ।
तालिबानले अफगानिस्तानको आधा भाग कब्जामा लिइसकेको बताइएको छ । जसमध्ये इरान र पाकिस्तानसँग जोडिएको सीमा पनि सामेल छ ।
वाशिङटनस्थित फाउन्डेसन अफ डिफेन्स अफ डेमोक्रेसीका अनुसार अमेरिकी सेना फिर्ता भएसँगै तालिबानले नियन्त्रणमा लिने क्षेत्रको संख्या तीनगुणा बढेको छ ।