चितवन- भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनका प्रमुख र उपप्रमुखका उम्मेदवार जित नजिक पुगेका छन् ।मतगणना अन्तिम चरणमा पुग्दै गर्दा नेकपा (माओवादी केन्द्र)का प्रमुख पदका उम्मेदवार रेनु दाहाल र नेपाली कांग्रेसका उपप्रमुख चित्रसेन अधिकारी जित नजिक छन् ।
अब महानगरमा २१ हजार ६१४ मत मात्रै गन्न बाँकी छ । महानगरमा एक लाख २७ हजार ८३९ मत खसेको थियो । आज बिहानसम्म एक लाख ६ हजार २२५ मत गणना भइसकेको छ ।
प्रमुखमा माओवादी केन्द्रकी दाहाल ९ हजार ९३० र कांग्रेसका अधिकारी १८ हजार ३२५ मतले अगाडि छन् । प्रमुखमा दाहालले ४३ हजार ७४३, एमालेका विजय सुवेदीले ३३ हजार ८१३ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नथ पौडेलले अहिलेसम्म १३ हजार ३७७ मत पाए ।
उपप्रमुखमा अधिकारीले ४५ हजार ७४, राप्रपाका हिमला गुरुङले २६ हजार ७४९ मत ल्याएका छन् । हाल वडा नम्बर २३ र २५ को मत गणना भइरहेको छ । महानगर पालिकामा २९ वडा छन् । यी दुई वडाको मत गणना पछि चार वडा मात्र गणना गर्न बाँकी रहन्छ ।
महानगरपालिकामा जित नजिक पुगेकी दाहाल निवर्तमान मेयरसमेत हुन् । उनलाई कांग्रेससहित पाँच दलीय गठबन्धनको सहयोग रहेको छ। निकट मत रहेका सुवेदी बागमती प्रदेश सदस्यबाट राजीनामा दिएर उम्मेदवार बनेका हुन् । उनलाई राप्रपाको साथ रहेको छ ।