काठमाडाैँ- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ‘घरघर जाऔँ, नेपाली कांग्रेसलाई जिताऔँ’ अभियानपछि मात्रै चुनावी तालमेलका बारेमा पार्टीले निर्णय गर्ने बताएका छन् । काठमाडौँको आलोकनगरमा शुक्रबार बिहान आयोजित बुथ समिति गठन कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले यस्ताे बताएका हुन् ।
चुनावी तालमेलका बारेमा अहिले कांग्रेसमा तीन थरी धारणा रहेको भन्दै उनले भनेका छन्, ‘आउने चुनावमा के गर्ने भनेर अहिले पार्टीभित्र तीन धारको कुरा आइरहेको छ । एकथरी एक्लै जानुपर्छ, अर्कोथरी गठबन्धनलाई निरन्तरता दिनुपर्छ । एउटाले जिल्लालाई जिम्मा दिएर आवश्यकताअनुसार गर्नुपर्छ भन्छ । अभियानबाट फर्केर रिपोर्ट ल्याएपछि वर्किङ कमिटीमा के गर्दा राम्रो हुन्छ त्यो निर्णय गर्छौँ ।’
सत्तारुढ ४ दलीय गठबन्धन कांग्रेसले चाहेरमात्रै नभएको जिकिर गर्दै सिंहले परिस्थितिज्य कारणले यो गठबन्धन बनेको प्रष्ट्याए । ‘संविधानलाई ट्रयाकमा राखिराख्ने, यसलाई जीवन्त राख्नका लागि गठबन्धन बनेको हुनाले आवश्यकताअनुसार बनेको गठबन्धन हो,’ उनले भने, ‘यो कांग्रेसले चाहेरमात्र होइन कि परिस्थितिज्य कारणले यो गठबन्धन हो ।’