काठमाडौं- सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्यालले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन्।
आइतबार बिहान ९:२० बजे उनले ८ हजार ८४८ मिटर अग्लो सगरमाथाको चुचुरोमा ‘सगरमाथा संवाद’ र सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराएको सगरमाथा बेशक्याम्पमा रहेका समन्वय अधिकृत सशस्त्र प्रहरी निरीक्षक निर्मल बस्नेतले जानकारी दिए। छन्त्यालसँगै गएका वङ्दी शेर्पाले पनि सोही समयमा सगरमाथाको सफल आरोहण गरेका छन्।
‘सगरमाथा संवाद’ कार्यक्रमको सन्देशलाई विश्वमा फैलाउन उनी सद्भावना दूतको रूपमा यो अभियानमा सहभागी भएका हुन्। यो कार्यक्रम जेठ २ देखि ४ सम्म आयोजना गरिएको थियो। सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डिएसपी शैलेन्द्र थापाले उनले यो आरोहण ‘सगरमाथा संवाद’ को विश्वव्यापी प्रचारप्रसारको लागि गरेको बताए।
यसअघि वैशाख २२ मा छत्यालले ६,११४ मिटर अग्लो लोबुचे हिमाल पनि फतह गरेका थिए। उनी सगरमाथा आरोहणका लागि वैशाख १५ मा काठमाडौँबाट प्रस्थान गरेका थिए भने वैशाख १४ मा प्रधानमन्त्री केपी शर्मा ओली र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उनलाई शुभकामना दिई विदा गरेका थिए।
सहायक निरीक्षक छत्याल सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय अन्तर्गत उच्च भुभाग विपद् व्यवस्थापन उपशाखामा सेवारत छन्।