एजेन्सी- पोर्चुगल राष्ट्रिय फुटबल टोलीका कप्तान क्रिस्टियानो रोनाल्डो र मुख्य प्रशिक्षक फर्नान्डो सान्तोसबीचको विवाद झनै चर्किँदै गएको छ । स्पेनिस सञ्चारमाध्यम मार्काका अनुसार सब्टिच्युट खेलाडीले गर्ने तालिममा जान रोनाल्डोले अस्वीकार गरेपछि विवाद थप चर्किएको हो ।
राष्ट्रिय टिमको कप्तान भए पनि उनलाई प्रशिक्षकले कतारमा जारी विश्वकपका केही खेलहरुमा सब्टिच्युटका रुपमा मात्रै मैदान प्रवेश गराएका थिए । दक्षिण कोरियाविरुद्धको समूह चरणको खेलमा प्रशिक्षक सान्तोसले रोनाल्डोलाई पूरै समय खेल्न दिएनन् । यसले गर्दा रोनाल्डोले असन्तुष्टि जनाएका थिए। यसपछि सुरु भएको विवाद रोनाल्डोले प्रशिक्षकको आदेश नमानेपछि झनै चुलिने देखिएको छ ।
विश्वकपअन्तर्गत पोर्चुगलले शनिबार सेमिफाइनल प्रवेशका लागि मोरक्कोविरुद्ध खेल खेल्दैछ । यसैले टोली अहिले त्यसको तयारीमा छ । यसैक्रममा प्रशिक्षक सान्तोसले रोनाल्डोलाई प्रतिस्थापन खेलाडीले गर्ने तालिममा जान आग्रह गरे । तर रोनाल्डोले नमानी सुरुवाती ११ का खेलाडीले गर्ने तालिम नै गरेको बताइएको छ ।गत
मंगलबार स्विट्जरल्याण्डविरुद्धको खेलमा सुपरस्टार रोनाल्डो सुरुवाती ११ मा परेका थिएनन् । उनी खेलको अन्त्यतिर मात्र मैदानमा प्रवेश गरेका थिए। यद्यपि, रोनाल्डो सुरुवाती ११ मा नखेले पनि सो खेल पोर्चुगलले ६–१ गोल अन्तरले सानदार रूपमा जितेको थियो ।