×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पद्मकन्याको स्ववियुमा भुपी ऐरको स्वतन्त्र समुह नै प्यानल निर्वाचित

पद्मकन्याको स्ववियुमा भुपी ऐरको स्वतन्त्र समुह नै प्यानल निर्वाचित

काठमाडौं - पद्मकन्या बहुमुखी क्याम्पस (पीके)को स्ववियु निर्वाचनमा नेविसंघको विद्रोही समूह 'स्वतन्त्र समुह'को प्यानल नै निर्वाचित भएको छ । नेविसंघको आधिकारिक उम्मेदवार पूर्णिमाया परियार नेतृत्वको प्यानललाई हराउँदै स्वतन्त्र रुपमा उम्मेदवारी दिएकी भुपेश्वरी (भुपी) ऐर नेतृत्वको विद्रोही प्यानल निर्वाचित भएको हो ।

परियार पार्टी सभापति शेरबहादुर देउवा पक्षकी र ऐर महामन्त्री गगन थापा पक्षकी हुन् । नेविसंघबाट दुई जनाको उम्मेदवारी परेपछि विवाद हुँदा चैत ५ गते हुनुपर्ने स्ववियु निर्वाचन चैत ७ गते मात्र भएको थियो ।


भूपीले ७३० मत पाएर स्ववियु सभापतिमा निर्वाचित हुँदा उनको निकटतम प्रतिस्पर्धी नेविसंघकी पूर्णिमायाले ३७९ मत पाइन् ।

यसैगरी सचिवमा भुपी प्यानलकै सन्ध्या बस्याल ६९५ मतसहित र कोषाध्यक्षमा संकल्पिका थापा ६६६ मत सहित निर्वाचित भएका छन् । सचिव पदमा निकटतम प्रतिस्पर्धी विपना न्यौपानेले ३६१ र कोषाध्यक्ष पदकी निकटतम प्रतिस्पर्धी चाँदनी शाहले ४०५ मत पाए ।


सदस्यहरुमा उर्वशी पाण्डे, चेतना नहर्की, अस्मिता विक, स्वस्तिका विष्ट, आशु चौधरी, आकृति पाण्डे, निशा कार्की र यानसु कटुवाल विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

पद्मकन्याको स्ववियु निर्वाचनका लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठनहरूले गठबन्धन गरेका थिए । सभापतिमा अनेरास्ववियुकी सुनिता घिमिरे उम्मेदवार थिइन् । सचिवमा भने अखिल क्रान्तिकारीकी सदीक्षा पोखरेल र कोषाध्यक्षमा सुम्निमा राईको उम्मेदवारी थियो ।

माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव निकट अखिल समाजवादीले पनि गठबन्धन गरेका थिए । उनीहरुको गठबन्धनबाट विप्लव निकट विद्यार्थी संगठन अखिल समाजवादीकी प्रजिता दर्नाल सभापतिको उम्मेदवार थिइन् । उनको प्यानलबाट अरुणा गौतम सचिव र आयुषा पण्डित क्षेत्री कोषाध्यक्षको उम्मेदवार थिए । उनीहरु सबैलाई भुपीको प्यानलले हरायो ।

पद्मकन्यामा नेविसंघको जित्दै आएको छ । २०३६ सालयता यो क्याम्पसमा कम्युनिस्ट धारको विद्यार्थी संगठनबाट शशी श्रेष्ठबाहेक कसैले पनि नतिजा आफ्नो पक्षमा पार्न सकेका छैनन् । श्रेष्ठले २०३८ सालमा स्ववियु अध्यक्ष जितेकी थिइन् ।

 

प्रतिकृया दिनुहोस्