काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ३६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा १९ हजार ५ सय ३९ जनाको पिसिआर परीक्षण गर्दा ७ हजार ३ सय १६ मा पोजेटिभ देखिएको र ३ सय ४४ जनाको एन्टिजेन परीक्षण गर्दा ५२ जनामा पोजेटिभ देखिएको जानकारी दिनु भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै २ हजार ६०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
काठमाडौंमा १ हजार ८८१, भक्तपुरमा २९२ र ललितपुरमा ४३६ जनामा गरी कुल २ हजार ६०९ जना थपिएका छन् ।
नेपालमा थप १४५ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ५ हजार १ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा ६ हजार ६४८ जना डिस्चार्ज भएका छन्।
मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या एक लाख १० हजार १६३ रहेको छ । जसमध्ये सात हजार ८०८ जना संस्थागत आइसोलेसनमा र एक लाख दुई हजार ४५५ जना होम आइसोलेसनमा रहेका छन् ।