एभरेष्ट प्रिमियर लिग (इपिलए)मा भैरहवा ग्ल्याडियटर्सले चितवन माथि दोस्रो जित निकालेको छ । सोमबार त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको दिनको पहिलो खेलमा भैरहवाले शीर्ष स्थानको चितवन टाईगर्सलाई ६ विकेटले पराजित गरेको हो।
चितवनले दिएको १६४ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा आएको भैरहवाले १७ ओभर ५ बलमा ४ विकेट गुमाउँदै १६५ रन बनाएको थियो। भैरहवाको जितमा विकेट किपर तथा ओपनिङ ब्याटर प्रदीप ऐरीले सर्वाधिक ७२ रन बनाए । ४३ बल खेलका ऐरीले ८ चौका ३ छक्का प्रहार गरे भने तमीम इक्वालले ४०, उपुल थरङ्गाले ३९ रन बनाए। चितवनको लागि करिम जन्नतले सर्वाधिक २ विकेट लिए भने सागर ढकाल र भीम सार्कीले समान १ विकेट लिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभर खेल्दै ८ विकेट गुमाएर १६४ रन पुगायो ।
चितवनको लागि करिम जन्नतले सर्वाधिक ३५ रनको योगदान गरे। यस्तै, मोहम्मद सहजादले ३२, सिकुगे प्रसन्नाले २४, भीम सार्की १६, राजेश पुलामी १४ र दिलीप नाथले १३ रन बनाए भने ओपनर खडक बोहरा भने १ रनमै आउट भएका थिए ।
भैरहवाका अविनाश बोहराले सर्वाधिक ३ विकेट लिए । यस्तै, कुशल मल्लले २ विकेट लिँदा कृष्ण कार्की, दुर्गेश गुप्ता र धम्मिका प्रसादले समान १–१ विकेट लिए । जारी ईपीएलमा चितवन पहिलो पटक पराजित भएको हो । यसका बाबजुद पनि चितवन यसअघि नै प्लेअफमा पुगिसकेको छ । यस्तै भैरहवा र पोखरा राईनोज पनि प्लेअफमा पुगिसकेका छन् ।
अब, प्लेअफमा पुग्न एक टोलीको टुंगो लाग्न बाँकी छ । काठमाडौंले बाँकी एक खेल जिते स्वतः प्लेअफ पुग्नेछ । यदि दुवै खेलमा काठमाडौं पराजित भए ललितपुर प्याट्रियट्स प्लेअफमा स्थान बनाउनेछ ।