काठमाडौं- जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याइएको नभइ लुटिएको टिप्पणी गरेका छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै अध्यक्ष राउतले बजेट बनाएर ल्याइएको नभइ लुटिएको बताएका हुन्। उनले बैंक लुटे जसरी चार यारहरूले बजेट लुटेको र अँध्यारो कोठामा गएर भागबन्डा गरेको बताए।
सरकारले जुट्ने क्रम जारी रहेको उनको भनाई छ। अध्यक्ष राउतले बजेटको सम्बन्धमा दिइएका कुनै पनि सुझावहरु कार्यान्वयन नहुने गरेको पनि बताए। उनले एक महिना बहश हुँदा पनि बजेटमा कमा र फुलस्टप समेत परिवर्तन नहुने गरेको भन्दै यसो हुनु संसद र सांसदहरूको निरिहता भएको बताए।
‘समग्रमा बजेट विनियोजनमा मात्रै चिन्ता नभएर समग्र व्यवस्थामाथि नै प्रहार भएको हो कि, संसद माथि नै प्रहार भएको हो कि भन्ने कुराले बढी चिन्ता मलाई लागेको छ। सरकारको प्रवृत्ति जुन देखिएको छ, त्यसमा सरकारको मन्त्रीहरूमा पात्रता देखिँदैन । संसदमा शुन्य समयमा वा अन्य समयमा के कुरा उठाइन्छ, छलफलमा के कुरा उठाइन्छ, त्यसको मतलव गरिँदैन भनेपछि कुनै सुझाव दिनु हुँदैन भनेर हाम्रा विद्वानहरुले भनेकै छन् । राउतले भने, ‘बजेट ल्याएको हो कि बजेट लुटेको हो भन्ने कुरा स्पष्ट देखिँदैन। यसो हेर्दा बजेट लुटिएको हो जस्तो देखिन्छ। बजेट बनाएको, ल्याएको होइन। बजेट लुटेको हो जस्तो स्पष्ट देखिन्छ । यो सरकारले लुट्ने क्रम जारी नै राखेको छ । बैशाखमा बारामा मत पेटिका लुटे । जेठमा आएर बजेट लुट्ने काम सरकारले गर्दै आएको छ । लुट्ने प्रवृत्तिको क्रमिक रुपमा जारी नै छ ।’ उनले यो बजेट योजना र दृष्टिविहीन रहेको पनि टिप्पणी गरे।