मलेसियाले त्रिकोणात्मक टि२० सिरिजत अन्तर्गत तेस्रो खेलमा नेपाललाई १ सय १० रनको सामान्य लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको मलेसिया १६.५ ओभरमा १ सय ९ रनमा अल आउट भयो । मलेसिया ओपनर सायद अजिजले २४ बलमा ४ चौका र १ छक्का सहित सर्वाधिक २७ रनको योगदान दिए ।
नेपालको बलिङ सामू मलेसिया ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
करण केसीको दोस्रो ओभरको चौथो बलमा ओपनर अनवार अरुद्दीन एज लागेर विकेटकिपर विनोद भण्डारीबाट ८ रनमा क्याच आउट हुन पुगेका थिए । ओपनर अनवार र सायद अजिजले पहिलो विकेटका लागि १७ रनको साझेदारी गरेका थिए । त्यसपछि मलेसियाले लगातार विकेट गुमाउन पुग्यो ।
चौथो ओभरको दोस्रो बलमा कप्तान अहमद फाइज ३ रनमा रन आउट हुन पुगे । दोस्रो रन लिनेक्रममा ओपनर अजिज सायदसँग तालमेल गर्न नसक्दा रन आउट हुन पुगेका थिए ।युवा ब्याट्सम्यान विरानदीप सिंहलाई सोमपाल कामीले ६ बलमा बोल्ड आउट गरे । विरानदीपले ११ बलमा १ चौका प्रहार गरे ।
विरानदीप आउट भएसँगै मलेसिया समस्यामा परेको थियो । आठौं ओभरको पाँचौं बलमा पार्टटाइम स्पिनर दीपेन्द्रसिंह ऐरीले ओपनर सायद अजिजलाई आसिफ शेखबाट २७ रनमा क्याच आउट गराउँदै नेपाललाई चौथो सफलता दिलाए ।
अजिजले २४ बलमा ४ चौका र १ छक्का प्रहार गरे । दीपेन्द्रको टि२० आई करिअरको पहिलो विकेट हो । स्पिनर साहब आलमको १२ औं ओभरको अन्तिम बलमा ठूलो सट खेलेका अमिनुद्दीन राम्ली ५ रनमा क्याच आउट भएसँगै मलेसिया ७७–६ को कमजोर अवस्थामा पुगेको थियो ।
तल्लोक्रमका खिजर हायत ४ र शर्विन मुनींदि २० रनमा आउट भए ।
नेपालका तीव्र गतिका बलर करण केसीले ३ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । सन्दीप लामिछाने ३.५ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, साहब आलम र कुशल मल्लले १–१ विकेट लिए ।