काठमाडौं - बर्खाको कहर र बाढीपहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै यात्रुको सुरक्षाका लागि बीपी राजमार्गमा १५ दिनसम्म रात्रिकालीन यात्रामा पूर्ण प्रतिबन्ध लगाइएको छ। यो कडा निर्णय काभ्रे, सिन्धुली र रामेछापका जिल्ला सुरक्षा समितिहरूको संयुक्त बैठकले गरेको हो।
शुक्रबारदेखि लागू हुने यो नियमअनुसार, आगामी १५ दिनसम्म हरेक साँझ साढे ६ बजेदेखि बिहान ५ बजेसम्म राजमार्गमा कुनै पनि गाडी चल्न पाउने छैनन्। रातको समयमा हुन सक्ने सम्भावित दुर्घटनाबाट यात्रुको ज्यान जोगाउन यस्तो पूर्वसावधानी अपनाइएको हो।
यो अवधिभर काठमाडौंबाट पूर्वतर्फ जाने सवारीसाधनलाई काभ्रेभञ्ज्याङमा र पूर्वबाट काठमाडौंतर्फ आउनेलाई सिन्धुलीको खुर्कोटमै रोकिनेछ। गत वर्ष असोजमा आएको बाढीपहिरोले यस राजमार्गमा पुर्याएको विनाशकारी क्षतिलाई ध्यानमा राख्दै प्रशासनले यो कदम चालेको हो। यात्रुहरूलाई सोहीअनुसार आफ्नो यात्रा तालिका बनाउनसमेत आग्रह गरिएको छ।