×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कांग्रेस नेता प्रदीप गिरीको निधन

कांग्रेस नेता प्रदीप गिरीको निधन

काठमाडौं - नेपाली कांग्रेसका बौद्धिक नेता, समाजवादी चिन्तक एवम् प्रतिनिधि सभा सदस्य प्रदीप गिरीको स्वास्थ्योपचारको क्रममा आज केहीबेर अघि ७५ वर्षको उमेरमा निधन भएको छ।

ललितपुरस्थित मेडिसिटी अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा उपचाररत उहाँलाई शुक्रबार भेन्टिलेटरमा सारिएको थियो। उहाँ सो अस्पतालमा साउन ८ गते भर्ना हुनुभएको थियो। नेपाली कांग्रेस संसदीय दलले शनिबार राति उहाँको निधन भएको पुष्टि गरेको हो। कांग्रेस संसदीय दलका सचेतक मिनबहादुर विश्वकर्माले उहाँको ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको क्रममाा शनिबार राति ९ : ३० बजे निधन भएको जानकारी गराउनुभएको हो । 

नेता गिरीको जन्म सन् १९४७ नोभेम्बर १ मा भएको थियो। बुवा मित्रलाल गिरी पनि राजनीतिमै सक्रिय हुनुहुन्थ्यो। बुवाको प्रेरणाबाट नेता गिरीले २०१७ सालताका राजनीतिक यात्रा सुरु गर्नुभयो। लोकतान्त्रिक आन्दोलनका क्रममा वि.सं. २०२५ मा १८ महिना र २०४२ मा करिव एक वर्षगरी उहाँ झण्डै चार वर्ष जेल बस्नुभयो।

वि.सं. २०२४ मा भारतको बनारसमा रहँदा नेपाल छात्र सङ्घको उपाध्यक्ष हुँदै राजनीति अघि बढाउनुभएका नेता गिरीले कांग्रेस केन्द्रीय सदस्यसम्मको जिम्मेवारीमा बसेर काम गर्नुभएको छ। जवाहरलाल नेहरू विश्वविद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रमा स्नातकोत्तर गर्नुभएका नेता गिरी २०७४ को प्रतिनिधि सभा निर्वाचनमा सिरहा १ बाट निर्वाचित सांसद हुनुहुन्छ।

उहाँको स्वास्थ्य उपचारको जानकारी लिन र स्वास्थ्य लाभको कामना गर्न राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाललगायतका व्यक्तित्व अस्पताल पुग्नु भएको थियो।  
 

प्रतिकृया दिनुहोस्