एजेन्सी - अष्ट्रेलिया सरकारले अबको ८ हप्ताभित्र अष्ट्रेलिया आउने अन्तराष्ट्रिय विद्यार्थीको भिषा शुल्क फिर्ता दिने भएको छ । प्रधानमन्त्री स्कट मोरिसनले मन्त्रीपरिषद बैठकबाट निर्णय गर्दै धन्यवाद स्वरुप विदेशी विद्यार्थीको भिषा शुल्क फिर्ता दिने निर्णय गरिएको बताइएको छ ।
जनवरी १९ देखि ८ हप्ताभित्र अष्ट्रेलिया प्रवेश गर्ने विदेशी विद्यार्थीलाई अध्यागमन विभागले शुल्क फिर्ता गर्ने बताइएको छ ।
प्रधामन्त्रीका अनुसार हाल १ लाख ५० हजार विद्यँर्थी भिषा लगाएर बसेका छन् । उनीहरु छिट्टै अष्ट्रेलिया आउन भनेर भिषा शुल्क फिर्ता दिन लागिएको प्रधानमन्त्री मोरिसनले बताउनुभयो । कोरोनाका कारण अष्ट्रेलियामा कामदारको चरम अभाव भएको छ । भिषा शुल्क वापत विद्यार्थीले ६ सय ३० डलर तिर्ने गरेका छन् ।
यसअघि सरकारले विद्यार्थी भिषावहाकलाई काम गर्ने समयमा लाग्ने प्रतिबन्ध हटाइसकेको छ । विद्यार्थीले अष्ट्रेलियामा हप्ताको २० घण्टा मात्रै काम गर्न पाउने नियम थियो ।
कोरोनाको सुरुवाती समयमा प्रधानमन्त्री मोरिसले विदेशी विद्यार्थीलाई घर फर्क भनेर अभिव्यक्ति दिएपछि निकै आलोचना भएको थियो । २ वर्षसम्म सिमाना बन्द हुदा भिषा लागेर बसेका विद्यार्थीहरुमा निराशा समेत जागेको थियो । विद्यार्थीहरुले क्यानाडा र वेलायतलाई समेत शैक्षिक गन्तव्य बनाउन थालिसकेका थिए ।
तर, डिसेम्बर १५ बाट विद्यार्थीका लागि सिमाना खुल्ला गर्न थालेको अष्ट्रेलियाले विद्यार्थीका लागि लचिलो नियम लागु गर्दै आएको छ ।