काठमाडौँ- व्यापक दबाबपछि प्रधानमन्त्री शेरवहादुर देउवाले मन्त्री परिवर्तन गर्ने भएका छन्। तत्काल जनता समाजवादी पार्टी (जसपा) र एकीकृत समाजवादीका मन्त्री परिवर्तन हुने भएका हुन्।
मन्त्री परिवर्तनले आन्तरिक दबाब बढ्ने देखेर केही समयदेखि यो मामिलामा मौन छन्। एकीकृत समाजवादीबाट मन्त्री हेरफेरका लागि बढी दबाब छ। देउवाप्रति एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललगायतको व्यापक असन्तुष्टि छ।
एकीकृत समाजवादीले मन्त्रीहरू प्रेमबहादुर आले, कृष्णकुमार श्रेष्ठ, विरोध खतिवडा र रामकुमारी झाँक्रीलाई फिर्ता बोलाएर जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीलाई सहरी विकास, शेरबहादुर कुँवरलाई श्रम तथा रोजगार र भवानी खापुङलाई स्वास्थ्यमन्त्री तथा हीरा केसीलाई स्वास्थ्य राज्यमन्त्री बनाउने निर्णय गरेको थियो ।
गठबन्धनको अर्को सहयात्री दल जसपामा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच मतभेद बढेको छ। दुवै पक्ष पार्टी विभाजन हुन सक्ने भन्दै बहुमत आफ्नोतर्फ पार्न सांसद तानातानमा छन्।
स्रोतका अनुसार मन्त्री बदलेर भए पनि यादव पार्टीमा बहुमत बचाइराख्ने दाउमा छन् भने भट्टराई मन्त्रीको अफरसहित धेरै सांसदलाई आफ्नो पक्षमा पार्ने योजनामा छन्।
यादव र भट्टराई दुवैले प्रधानमन्त्रीलाई भेटेर आफूले सिफारिस गरेअनुसार मन्त्रिपरिषद् हेरफेर गर्न आग्रह गरेको बालुवाटार स्रोत बताउँछ। तर पनि अध्यक्ष यादव मन्त्री परिवर्तन गर्नेबारे पार्टीमा कुनै छलफल नभएको बताउँछन्।