काठमाडाैँ- निर्वाचन आयाेगले बाेलाएकाे बैठकमा दलहरूले नाराबाजी गरेका छन् । निर्वाचन आचारसंहिता कार्यान्वयन प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्न आफूहरूलाई दबाब दिएकाे भन्दै दलहरू नाराबाजीमा उत्रिएका हुन् । मंगलबार आयोगले आचारसंहिताबारे ७९ दललाई छलफलमा बोलाएको थियो । आयोगले दलहरूलाई आचारसंहितामाथि छलफल नगरी प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्न भनेको थियो ।
छलफल नै नगरी हस्ताक्षर गर्न भनेपछि राष्ट्रिय मान्यता नपाएका दलहरूका नेता र प्रतिनिधिले विरोध जनाएका थिए । सत्तारुढ गठबन्धन र ठूला दलको आदेशमा आयोग चलेको भन्दै साना दलले आयोगका पदाधिकारीविरुद्ध नाराबाजीसमेत गरेका छन् । बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विवाद नगर्न आग्रह गरेका छन् ।