काठमाडौँ- रुसले कब्जा गरेको क्षेत्र लुहान्स्कमा रहेको आधार शिविरमा भएको युक्रेनी मिसाइल हमलामा २ सय रुसी प्याराट्रुप्स मारिएको स्थानीय नेताले दाबी गरेका छन् । पूर्वी युक्रेनको कादिभ्का सहरमा रहेको मुख्यालयमा भएको हमलामा उनीहरू मारिएका लुहान्स्का गभर्नर सेर्ही गैडाइले जानकारी दिए ।
विस्फोटबारे सेयर गरिएको एउटा भिडियोमा रुसी सेनाले आधारको रूपमा प्रयोग गरेको होटेलको भग्नावशेष देख्न सकिन्छ । उनले फेसबुकमा लेखेका छन्, ‘अस्थायी रूपमा कब्जा गरिएको कादिभका, लुहान्स्क क्षेत्रमा, युक्रेनी सैनिकहरूले रुसीहरूको आधारलाई ध्वस्त पारे । ’ आक्रमण करिब २०० रुसी प्याराट्रुप्स मारिएका उनले बताए । युक्रेनमाथि रुसले हमला गरेको ६ महिना पूरा भएको छ । हमलामा दुवै देशका सयौँ सैनिकको मृत्यु भएको छ ।