काठमाडौं । केहि दिनदेखी काठमाडाैँ उपत्यकामा देखिएकाे वायू प्रदुषणबाट बालबालिकालाई जोगाउन भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षणसंस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ । मन्त्रालयमा आज बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो ।
बैठकमा मन्त्री कृष्णगोपाल श्रेष्ठले वायुमण्डलमा देखिएको मौसम प्रतिकूलताका कारण शिक्षण संस्था बन्द गर्नुपरेको बताउनुभएको छ ।
बैठकमा शिक्षा सचिव रामप्रसाद थपलिया, विज्ञान मन्त्रालयका सचिव डा. सञ्जय शर्मा, मन्त्रालयका प्रवक्ता एवम् सहसचिव दीपक शर्मा, सहसचिव डा. हरि लम्साल, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बैकुण्ठ अर्याललगायतको सहभागिता थियो ।
बैठकअघि मन्त्री श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि छलफल गर्नुभएको थियो । कोभिड–१९ महामारीका कारण गत वर्ष चैत ११ गतेबाट बन्द भएको विद्यालय यो वर्ष कात्तिकदेखि मात्र पूर्ण रुपमा सञ्चालनमा आएको थियो ।
डढेलो र अन्य फोहोर हावाले वायुमण्डलमा पकड जमाउँदा वायू प्रदूषण झन् कडा बन्दै गएको छ । केही दिन यता बिहानदेखि साँझसम्मै आकाश धुम्म बनेर सूर्यको किरण धर्तीमा आउन सकेको छैन ।
प्रदूषण उच्च रहेकाले काठमाडौँलगायत देशका मुख्य सहरको आकाश खुलेको छैन । वायु प्रदूषणको असर हिमाली जिल्लामा समेत पुगेको छ । जुम्ला, रारा क्षेत्रसम्म वायु प्रदूषणले असरले आकाश ढाक्न पुगेको छ ।
यो अवस्थामा दुई तीन दिनमा सुधार आउने अपेक्षा गरिए पनि अझै लम्बिन सक्ने वातावरण विभागले जनाएको छ । विभागको प्रदूषण सूचकले काठमाडौँ लगायतका सहरमा वायु प्रदूषण कडा बन्दै गएको देखाएको छ ।
आजै मात्र प्रधानमन्त्री ओलीले देशभर फैलिएको वायू प्रदूषणबाट बालबालिकालाई जोगाउन सरकारले विद्यालयहरु बन्द गराउने तयारी गरेको जानकारी दिनुभएको थियो ।
चीनले अनुदानमा दिएको खोप हस्तान्तरण गर्ने कार्यक्रममा उहाँले यस्तो जानकारी दिनुभएको हो । त्यसपछि शिक्षा मन्त्रालयले बन्द गर्ने निर्णय गरेको हो ।