कोलम्बो- श्रीलङ्काका राष्ट्रपति गोटाबाय राजापाक्षले पदबाट राजीनामा दिने तयारी गरेका छन् । उनले राजीनामा दिने बारेमा प्रधानमन्त्री रनिल विक्रमासिङ्गेलाई जानकारी गराइसक्नु भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।
आन्दोलनकारीहरुको चर्को दबाबपछि उनले राजीनामा दिने तयारी गरेका हुन् । उनको राजीनामाको माग गर्दै आन्दोनलकारीहरुले शनिबारदेखि अहिलेसम्म पनि राष्ट्रपति र प्रधानमन्त्रीको निवास कब्जा गरेका छन । उनीहरुले राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा नगर्दासम्म निवास कब्जा गरिरहने बताएका छन् ।
प्रदर्शनकारीले प्रधानमन्त्रीले समेत राजीनामा दिनु पर्ने माग गरेकाले प्रधानमन्त्री विक्रमासिङ्घे पनि राजीनामा दिन तयार भएका छन् ।
राष्ट्रपति राजापाक्षले राजीनामा दिने प्रधानमन्त्री विक्रमासिङ्घेले बताएपनि राष्ट्रपतिले नै भने यस बारेमा अहिलेसम्म केही बताएको सार्वजनिक भएको छैन । उनले आफैले सार्वजनिक रुपमा नभन्दासम्म विश्वास गर्न नसकिने प्रदर्शनकारीको भनाई छ ।
यसअघि आन्दोलनकारीहरुकै दबाबमा तत्कालिन प्रधानमन्त्री महिन्दा राजापाक्षले राजीनामा दिएका थिए । मुलुकको आर्थिक सङ्कटको मुख्य कारण राजापाक्ष दाजु भाइ नै भएको भन्दै दुवै जनाको राजीनामा माग गरिएको छ । चरम आर्थिक सङ्कटमा फसेको श्रीलङ्कामा केही महिनादेखि सरकारविरुद्ध प्रदर्शन भइरहेको छ ।
विदेशी मुद्रा सञ्चितिको अभावमा श्रीलङ्कामा महिनौँदेखि खाद्यान्न, इन्धन, औषधि लगायतका अत्यावश्यक वस्तुको आयात रोकिएकाले अभाव र मूल्य वृद्धि सृजना भएको छ ।
प्रदर्शनकारीहरूले राष्ट्रपति भवनमा करोडौँ रूपैयाँ नगद भेटिएको दाबी गरेका हुन् । सामाजिक सञ्जालमा केही भिडियोहरू सार्वजनिक भएका छन्, जसमा प्रदर्शनकारीहरूले नोट गनिरहेको देख्न सकिन्छ । ठूलो सङ्ख्यामा प्रदर्शनकारी राष्ट्रपति भवनमा प्रवेश गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।