×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

राष्ट्रियसभामा फेरि बादलले बाजी मार्ने यस्तो छ अंकगणित !

राष्ट्रियसभामा फेरि बादलले बाजी मार्ने यस्तो छ अंकगणित !

काठमाडौँ । नेकपा(माओवादी) केन्द्र परित्याग गरी नेकपा(एमाले)प्रवेश गरेका राष्ट्रिय सभा सदस्य रामबहादुर थापा ’बादल’को पद आज बाट रिक्त भएको छ। आजैका मिति बाट लागुहुने गरि अब ३५ दिन भित्रै उनको रिक्त स्थान पदपूर्ति गर्नुपर्ने कानूनी ब्यबस्था छ। उनलाई  माओवादीले राष्ट्रिय सभा सदस्यबाट हटाउन संघीय संसद सचिवालयलाई चैत २७ गते शुक्रबार पत्राचार गरेको थियो ।

माओवादी केन्द्रले संविधानको धारा ९ को ङ बमोजिम थापालाई राष्ट्रिय सभा सदस्यबाट हटाउन सिफारिस गरेको हो । सिफारिस अनुसार संसद सचिवालयले आज सूचना टाँसेर बादललाई पदमुक्त भएको जानकारी गराएको छ । नियमावलीमा अधिवेशन चालु नरहेका अवस्थामा सचिवालयले सूचना टाँसेर जानकारी गराउन सक्ने व्यवस्था छ । बादल पदमुक्त भएको सूचना टाँसेको ३५ दिनभित्र निर्वाचन गरी पदपूर्ति गर्नुपर्ने राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ मा व्यवस्था छ । सो ऐनको दफा ६१ मा कुनै सदस्यको पदावधी ६ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले निजको पद रिक्त भएमा रिक्त भएको ३५ दिनभित्र नेपाल सरकारले तोकेको मितिमा निर्वाचन आयोगले त्यस्तो रिक्त सदस्यको पद यो ऐन बमोजिम बाँकी अवधीको लागि उपनिर्वाचनद्धारा दफा ३ बमोजिम पूर्ति गर्नेछ भन्ने उल्लेख छ । राष्ट्रिय सभा सदस्य पदबाट हटेपनि संविधानको धारा ७८ बमोजिम बादल थप ६ महिना मन्त्री बन्न पाउनेछन् । राष्ट्रिय सभाको उपनिर्वाचनबाट उनी फेरी विजयी भए उनको मन्त्रीपद ६ महिनापछि पनि सुनिश्चित रहन्छ ।

राष्ट्रिय सभा सदस्यको लागि प्रदेश सांसद र स्थानीय तहका प्रमुखरउपप्रमुख मतदाता हुने भएकाले पनि मतपरिणाम स्पष्ट जस्तै देखिन्छ । उपनिर्वाचनमा एमालेको तर्फबाट बादल उम्मेदवार बन्ने सम्भावना अत्याधिक छ ।

अब हुने उपनिर्वाचनका लागि वागमती प्रदेश सभा सदस्य ११० जना छन् । जसमा एमालेका ५७, माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, विवेकशील साझा पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीका २/२ जना र जनता समाजवादी पार्टीका १ जना छन् । अर्थात ११०मा बहुमत सदस्य एमालेका छन् । स्थानीय तहमा एमालेको १३३ जना, कांग्रेसको ६७, माओवादी केन्द्रको ३३, राप्रपाको २, नेमकिपा २ र जसपा १ जना छन् । मतदान गर्न पाउने स्थानिय तहका २३८ मत मध्ये एमालेकोमात्रै १३३ र अन्यसबै दल जोड्दा १०५ मत हुन आउँछ ।


राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को अनुसूची १ मा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुखरउपप्रमुखको मतभार १८ तोकिएको छ । यसरी हेर्दा प्रदेशमा एमालेको मतभार २७३६, माओवादी केन्द्रको ११०४, कांग्रेसको १०५६, विवेकशील साझाको १४४, राप्रपा र नेमकिपाको ९६/९६ र जसपाको ४८ हुन आउँछ । स्थानीय तह तर्फ एमालेको २३९४, कांग्रेसको १२०६, माओवादीको ५९६, राप्रपा र नेमकिपाको ३६/३६ र जसपाको १८ हुन आउँछ ।

परिणाम
प्रदेश र स्थानीय तहको मतभार जोड्दा एमालेको ५१३०, कांग्रेसको २२६२, माओवादी केन्द्रको १७००, विवेकशील साझाको १४४, राप्रपा र नेमकिपाको १३२/१३२ तथा जसपाको १८ हुन्छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्ट दलहरुले साझा उम्मेदवार बनाउन सक्छन् । त्यसो गर्दा एमालेको एक्लैको ५१३० मतभार हुदा अन्य सबै दलको ४३८८ हुन आउछ । त्यसमा पनि राप्रपाको र मजदुर किसान पार्टीको मत एमालेलाई आउने सम्भावना देखिन्छ । यसबाट के प्रष्ट हुन्छ सबै दलले आ–आफ्नै उम्मेदवार बनाए भने एमालेको उम्मेदवारले स्वतः जित्छ । एमाले बाहेकका सबै दल एकजुट भएर साझा उम्मेदवार बनाएपनि मतभार हेर्दा एमालेकै उम्मेदवारले जित्ने निश्चितप्रायः देखिन्छ । तर गत बैशाख ३ गते कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले विश्वासको मत लिंदा जस्तै एमालेको माधव नेपाल समुहबाट अन्तर्घात भए उनलाई केही जोखिम हुनसक्छ ।

बादल निकट स्रोत भने उनले टिकट पाएमा उनी पुन निर्वाचित हुनेमा ढुक्क देखिन्छ । उनी निकट स्रोतले भन्यो, ‘कांग्रेस र माओवादीले छुट्टाछुट्टै उम्मेदवारी दिएको अवस्थामा जति अन्तर्घात भएपनि एमालेको उम्मेदवारले सहजै जित्छ । कांग्रेस र माओवादीको साझा उम्मेदवार भए जुन पार्टीले टिकट पाउँछ, अर्को पार्टीले क्रस मतदान गर्छ । त्यो अवस्थामा पनि एमालेकै उम्मेदवारले जित्ने हो । यदि त्यसो भएमा बादल ३५ दिन भित्रै फेरि रास्ट्रीय सभा सदस्य बन्नेछन्।’

प्रतिकृया दिनुहोस्