काठमाडौं - प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा आज विहान ११ बजे बैठक बस्ने संघीय संसद सचिवालयले जनाएको छ । बैठकका लागि संसद सचिवालयले हिजो नै कार्यसूची सार्वजनिक गरिसकेको छ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधकैबीच सत्तापक्षले प्रतिनिधिसभाबाट आज नै बजेट ‘प्रतिस्थापन विधेयक’ पास गर्ने तयारी गरेको छ । संसद्को सोमबारका लागि डाकिएको बैठकको सम्भावित कार्यसूचीसमेत बजेट पास गर्ने गरी तय गरिएका छन् ।
आजको सम्भावित कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राख्ने उल्लेख छ । तर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा अवरोध जारी राख्दै आएकाले बैठक अघि वढ्ने सम्भावना कम छ ।
सत्तारुढ गठबन्धनका दलहरुले भने आज बजेट निर्णयार्थ प्रस्तुत गर्ने तयारी रहेकाले सबै सांसदलाई उपस्थित हुन ह्वीप जारी गरेका छन्। प्रतिनिधिसभाको बैठक यसअघि भदौ २९ मा बैठक बसेको थियो ।