×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रधानमन्त्री कप : ललितको घातक बलिङमा प्रदेश-१ माथि पुलिसको शानदार जित

प्रधानमन्त्री कप : ललितको घातक बलिङमा प्रदेश-१ माथि पुलिसको शानदार जित

काठमाडौँ- विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ । उसले आज सम्पन्न समूह ‘बी’अन्तर्गतको खेलमा प्रदेश–१ लाई ७ विकेटले हराउँदै पुलिसले लगातार दोस्रो जित हात पारेको हो ।

१०३ रनको लक्ष्य पुलिसले १४ ओभरमा ३ विकेट गुमाउँदै भेट्टायो । उसका लागि कुशल भुर्तेलले २८ बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ४२ रनको योगदान दिए । 

शंकर रानले २९ तथा अविजित रहेका राशिद खानले १६ र कप्तान दीपेन्द्रसिंह ऐरीले १४ रन बनाए । प्रदेश–१ का लागि फिर्दोस अन्सारी र कप्तान सिद्धन्त लोहनीले एक/एक विकेट हात पार्दा एक विकेट रन आउटको रूपमा प्राप्त भयो ।

त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको प्रदेश–१ ले ३५.१ ओभरमा सबै विकेट गुमाउँदै १०२ रन बनाएको थियो ।  उसका लागि निरज मुखियाले २९, अंकित सुवेदीले २४ तथा विवेक आनन्द मेहताले १७ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

प्रदेश–१ लाई सस्तैमा समेट्ने क्रममा पुलिसका ललितनारायण राजवंशीले पाँच, दीपेन्द्रसिंह ऐरी र सागर ढकालले दुई/दुई तथा राशिद खानले एक विकेट हात पारे । 

यो जितसँगै पुलिसले २ खेलमा ४ अंक जोड्दा प्रदेश–१ ले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । पुलिसले पहिलो खेलमा बागमती प्रदेशविरुद्ध १९२ रनको फराकिलो जित निकालेको थियो । 

प्रतिकृया दिनुहोस्