×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कांग्रेसजनलाई ओनसरीको अपिल : मलाई काठमाडाैँमा जिताउनुस्, रोल्पामा काँग्रेस जिताउँदैछौँ

कांग्रेसजनलाई ओनसरीको अपिल : मलाई काठमाडाैँमा जिताउनुस्, रोल्पामा काँग्रेस जिताउँदैछौँ

काठमाडाैँ- पूर्वसभामुख एवं माओवादी केन्द्रकी स्थायी समिति सदस्य ओनसरी घर्तीले ४ मंसिरको निर्वाचनमा माओवादी, काँग्रेस र एकीकृत समाजवादी अर्काप्रति इमानदार रुपमा प्रस्तुत हुने बताएकी छन् । सत्तारुढ गठबन्धनले काठमाडाैँकाे ऐतिहासिक सहर साँखुमा सोमबार गरेको चुनावी सभालाई सम्बोधन गर्दै घर्तीले गठबन्धनमा आबद्ध काँग्रेस, माओवादी र एकीकृत समाजवादीको मत एकअर्को दलका उम्मेदवारलाई सहजै ‘ट्रान्सफर’ हुने वातावरण बनेको बताइन् । 

४ मंसिरको निर्वाचनलाई सामान्य आवधिक चुनावका रुपमा मात्र लिन नहुने चर्चा गर्दै उनले लोकतन्त्र, व्यवस्था, संविधान र जनताको जित या हारका रुपमा लिनुपर्ने उनको भनाइ थियो । घर्तीले आफूलाई माओवादीको मात्र नभई गठबन्धनको उम्मेदवारका रुपमा हेर्न भन्दै माओवादी मतदाता र जनताले अन्यत्र काँग्रेस र समाजवादीका उम्मेदवारलाई पनि आफ्नै ठानेर मत दिने उल्लेख गरिन् । काँग्रेस, माओवादी र एकीकृत समाजवादी मिलेर काठमाण्डौं–२ बाट संघमा आफू विजयी हुँदै गरेको भन्दै उनले रोल्पाको प्रदेश (ख) मा माओवादी मतले काँग्रेस उम्मेदवार विजयी हुँदै गरेको बताइन् ।

घर्तीको गृहिजल्ला रोल्पाको प्रदेश (ख) मा काँग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन गठबन्धनका साझा उम्मेदवार छन् । ‘काँग्रेस, माओवादी र एकीकृत समाजवादी मिलेर यहाँबाट संघमा म विजयी हुँदै गर्दा उनले रोल्पाको प्रदेश (ख) मा काँग्रेसका उम्मेदवार विजयी हुँदैछन्’, उनले भनिन्, ‘काँग्रेस मतदातालाई लक्षित गर्दै उनले भनिन्, ‘तपाईंहरु हँसिया हथौडामा भोट दिएर मलाई यहाँ जिताउँदै हुनुहुन्छ, रोल्पामा हामी रुखमा भोट दिएर काँग्रेसका उम्मेदवार जिताउँदैछौं । कतै कलम र कतै ग्लासको जित गराउँदैछौं ।’ गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सात दल र तत्कालीन विद्रोही आफ्नो दल मिलेर मुलुकबाट राजतन्त्र अन्त्य गरेको स्मरण गरिन् । काँग्रेस र कम्युनिस्ट मिलेर व्यवस्था परिवर्तन गरेको भन्दै उनले अवस्था परिवर्तन गर्न गिरिजाप्रसादले भन्ने गरेको जस्तै प्रमुख दलबीच सहमति, सहकार्य र एकताको सूत्रलाई आत्मसात गरेर अघि बढ्नुपर्ने बताइन् । गिरिजाप्रसादकै शैलीमा उनले तीनपटक कार्यक्रममा जय नेपाल उच्चारण गरिन् । उनले सत्ता गठबन्धन लोकतन्त्र र संविधानमाथिको प्रहार रोकेर राजनीतिक स्थायित्व, विकास र मुलुकको समृद्धिका लागि बनेको दाबी गरिन् । गठबन्धनका दलबीच नीति र सिद्धान्तमा केही भिन्नता भए पनि मुलुकको विकास सबैको साझा उद्देश्य भएको उल्लेख गरिन् । ‘विचार फरक भए पनि राष्ट्र निर्माणका लागि सबै एक ठाउँमा आउनुपर्छ भन्ने मेरो र मेरो दलको मान्यता रहेको स्पष्ट गराउन चाहन्छु’, घर्तीले भनिन् । घर्तीले आफू काठमाण्डौं–२ का जनताको सेवाका लागि आएको बताइन ।

आफ्नो बाँकी जीवन उक्त क्षेत्रका लागि समर्पित गर्ने घोषणासमेत उनले गरिन् । दुई तिहाइ नजिकको आफ्नै सरकारलाई मृत्यु शय्यामा पु¥याएका एमाले अध्यक्ष केपी ओलीले फेरि बहुमत माग्दै हिँडेको सुनिभएको भन्दै उनले संसद विघटन गर्नेलाई जनताले भोट दिन नहुने बताइन् । ‘केपी ओलीले इतिहासमा ठुलो भुल गर्नुभएको छ । जनताले पाँच वर्षका लागि देश चलाउने जनादेश दिनुभएको थियो । त्यो जनादेश कुल्चिने अपराध उहाँले गर्नुभयो’, उनले भनिन्, ‘ओलीलाई भोट होइन, जनताले मंसिर ४ मा दण्ड दिनुपर्छ ।’

सत्तारुढ गठबन्धनमा आबद्ध दलको मुलुक र राष्ट्रियताप्रतिको निष्ठामा ओलीले प्रश्न उठाउने गरेको स्मरण गर्दै घर्तीले नेपालको हेडक्वार्टर प्रधानमन्त्री निवास बालुवाटारमा मध्यरातमा भारतीय गुप्तचर संस्थाका प्रमुख सामन्तकुमार गोयललाई स्वागत गर्ने र सबै दल मिलेर संसदबाट जारी गरेको नेपालको चुच्चे समावेश गरिएको पाठ्यपुस्तक वितरणमा रोक लगाउने केपी ओली कसरी राष्ट्रवादी भए भन्ने प्रश्न गरिन् ।

फरक प्रसंगमा उनले शंखरापुरमा काठमाण्डौं खाल्डोभन्दा पहिला नै बस्ती रहेको भन्दै यस्तो ऐतिहासिक ठाउँको उम्मेदवार हुन पाउँदा धेरै खुसी लागेको बताइन् । घर्तीले ऐतिहासिक साँखु नगरीलाई सुन्दर बनाउने जिम्मेवारी र अवसर दिन मतदातालाई आग्रह गरिन् । शंकरापुरमा रहेका ऐतिहासिक मठ मन्दिरलाई धुलोले ढाकिएको भन्दै त्यो हटाउने काम आफ्नो भएको बताइन् । हिन्दु र बुद्ध धर्मावलम्बीको बसोबास रहेको स्थान भएकाले शंकरापुरलाई धार्मिक संगम स्थलका रुपमा विकास गरी पर्यटन प्रवर्द्धनको सम्भावना रहेको उल्लेख गरिन् । सभामुखसमेत भएर कुशलतापूर्वक कार्यसम्पादन गरिसकेको अनुभवका आधारमा आफूले निर्वाचन जिते जनताका विकास निर्माणको आकांक्षालाई सरकारको पहुँचसम्म पु¥याउने र कानुन निर्माणको काममा कुनै कमी हुन नदिने प्रतिबद्धता घर्तीले जनाइन् ।

प्रतिकृया दिनुहोस्