काठमाडौं। सरकारले बहुप्रतिक्षित नागढुङ्गा सुरुङमार्ग प्रयोग गरेबापत लाग्ने शुल्क (उपभोग दस्तुर) निर्धारण गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सवारी साधनको प्रकारअनुसार काठमाडौं उपत्यका भित्रिँदा र बाहिरिँदा फरक-फरक शुल्क लाग्ने गरी दररेट स्वीकृत गरेको हो।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार, साना चार पाङ्ग्रे सवारी (कार/भ्यान) ले काठमाडौं भित्रिँदा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ। त्यसैगरी, मिनी बस र मिनी ट्रकका लागि काठमाडौं प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ शुल्क तोकिएको छ।
ठूला सवारी साधन, बस तथा ट्रकले भने काठमाडौं भित्रिँदा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ दस्तुर बुझाउनुपर्नेछ।
सबैभन्दा धेरै शुल्क ठूला तथा हेभी इक्विपमेन्ट (भारी उपकरण) का लागि तोकिएको छ। यस्ता साधनले काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ तिर्नुपर्नेछ। मन्त्रिपरिषद्को निर्णयअनुसार, मोटरसाइकल र स्कुटरजस्ता दुई पाङ्ग्रे सवारी साधनलाई भने सुरुङमार्ग प्रयोग गर्न दिइने छैन।