काठमाडौं-नेकपा माओवादी केन्द्रले समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदले प्रमाणपत्र लिएपछि मात्र संसदीय दलको नेता चयन गर्ने भएको छ। प्रत्यक्ष र समानुपातिकतर्फका सांसद टुङ्गो लागिसकेको भए पनि समानुपातिकले निर्वाचित भएको प्रमाणपत्र लिन बाँकी छ । उनीहरुलाई पनि प्रमाणपत्र वितरण गरिएपछि दलको नेता चयन गर्ने माओवादीको तयारी छ ।
माओवादीको पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकालले अन्य दलमा जस्तो संसदीय दलको नेता चयनमा विवाद नभएको र समानुपातिकतर्फबाट निर्वाचित सांसदले आधिकारिक प्रमाणपत्र पनि नलिएको अवस्थामा दलको नेता चयनमा हतारो नगरिएको दाबी गरे।
निर्वाचन आयोगले यही पुस ३ गते प्रतिनिधि सभामा समानुपातिक तर्फका सांसदलाई निर्वाचित भएको प्रमाणपत्र दिने तयारी गरेको छ। संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै चयन हुनेमा माओवादीभित्र एकमत रहेको उनको भनाइ छ।
गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्षतर्फ माओवादी केन्द्रका १८ र समानुपातिकतर्फ १४ सांसद निर्वाचित भएका छन्।